तुलसीपुर — दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन्। मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन्।
दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन्। नेपाल टेलिकमले प्रदान गर्दै आएको एडिएसएलका तीन हजार ८ सय ७३ ग्राहक रहेका छन्।
नेपाल टेलिकम तुलसीपरका सूचना अधिकारी दिलबहादुर केसीका अनुसार तुलसीपुरमा एकहजार ४ सय ५१, घोराहीमा एकहजार २ सय ८०, बिजौरीमा १ सय ७, बेलझुण्डीमा ६४ हापुरेमा ७१ ग्राहक रहेका छन्। उहाँका अनुसार तुलसीपुरमा चार हजार १ सय ७० ग्राहकलाई इन्टरनेट पुर्याउन सक्ने क्षमता रहेको छ।
त्यस्तै घोराहीमा चार हजार ९ सय ४४ क्षमता रहेको छ। त्यस्तै टेलिकम तुलसीपुर मातहत रहेको सल्यानमा ३ सय५, रोल्पामा ४ सय ४९, प्यूठानमा १ सय ५६ इन्टरनेट प्रयोग कर्ता रहेको केसीले बताउनुभयो।
प्रभावहीन फोरजी
दाङसहित विभिन्न जिल्लाका शहरमा शुरु भएको फोरजी सेवा प्रभावकारी हुन सकेको छैन। दाङको घोराही, तुलसीपुर तथा लमहीमा फोरजी सेवा शुरु भएको हो तर यो सेवा प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन।
केन्द्रकै समस्याका कारण प्रभावकारी बन्न नसकेको सूचना अधिकारी केसीले बताउनुभयो। “यो समस्या यताबाट होइन’, उनले भने, ‘केन्द्रीय समस्याका कारण यस्तो समस्या देखिएको छ।’
अहिलेको फोरजी सेवा ६५ लाख जनसङ्ख्यालाई धान्ने खालको योजना रहेको केसीले बताए। त्यसका लागि तुलसीपुरको गुम्राहा चोकदेखि बिपी चोकसम्म फोरजीको लाइन तानी सकेको र सडक विभागले घोराही रोडमा सडक निर्माण गर्न लागेको हुँदा फोरजीको काममा केही समस्या भएको उनको भनाइ छ।
चारवटा टावर सञ्चालन
दाङमा पनि मोबाइलको टावर विस्तारलाई तीव्रता दिइएको छ। गत वर्ष मात्रै दाङमा १२ वटा टावर निर्माण भएका छन्। जसमध्ये चारवटा टावर सञ्चालन भएका छन् भने अन्य टावर सञ्चालन हुने अन्तिम प्रक्रियामा छन्। रासस