एजेन्सी – युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले समूह चरणको अन्तिम खेलमा अदभुत प्रदर्शन गर्दै अर्मे्नियामाथि ९–१ को शानदार जित निकालेको छ।
२०१८ को विश्वकपमा स्थान बनाउन असफल इटालीले युरोकप छनोटमा अपराजित रहँदै कीर्तिमान समेत बनायो। समूह ‘जे’ मा अपराजित रहेको इटालीले १० खेलबाट ३० अंक जोड्दै छनोटमा सुखद् अन्त्य गरेको छ। यस्तै इटालीले १९४८ पछि यति ठुलो अन्तरमा जित निकालेको हो। त्यतिबेला इटालीले अमेरिकामाथि ९–० को जित निकालेको थियो ।
पालेर्माेमा सोमबार राति भएको खेलमा इटालीको जितमान सिरो इम्मोबाइल र निकोलो जानिओलोले समान २–२ गोल गरे।निकोलो बारेला, एलेसियो रोमाग्नोली, जर्गिन्हो, रिकार्डाे ओर्सि्लिनी र फेडरिको चेइसाले समान १–१ गोल गरे। अर्मे्नियाका इडगर बाबायानले सान्त्वना गोल गरे ।
रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको इटालीले पहिलो हाफमा चार र दोस्रो हाफमा एक पेनाल्टीसहित पाँच गोल गरेको थियो। गोलको वर्षा भएको खेलमा इटालीले ३३ मिनेट भित्रै ४–० को आरामदायी अग्रता लिएको थियो।
आठौं मिनेटमा सिरो इम्मोबाइलले गोलको खाता खोलेका थिए । आठौं मिनेटमा शुरु भएको गोलको वर्षा ८१औं मिनेटसम्म चल्यो। ८१औं मिनेटमा फेडरिकोले गोल गर्दै इटालीलाई ९–१ को अद्भुत जित दिलाए। त्यसअघि ७९औं मिनेटमा अर्मे्नियाले एक गोल फर्काएका थिए । इटालीले छनोटका १० खेलमा शतप्रतिशत जित आत्मसाथ गर्याे। पराजित अर्मे्निया १० अंकसहित पाँचौ स्थामा रह्यो।
यो समूहबाट फिनल्यान्डले पहिलोपटक युरोकपमा स्थान बनाउन सफल भएको थियो। फिनल्यान्ड सोमबार राति ग्रीससँग २–१ ले पराजित भएको थियो। यस्तै अर्काे खेलमा बोस्निया एन्ड हर्ज गोभिनाले लेचेस्टाइनमाथि ३–१ को जित निकाल्यो।