काठमाडौं — चिकित्सकको साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि महासचिव पदमा डा बद्री रिजालले उम्मेदवारी दिने भएका छन्।
आगामी माघमा सङ्घको नयाँ कार्यसमितिका लागि निर्वाचन हुने भएकाे छ।
लोकतान्त्रिक चिकित्सक सङ्घको सोमबार बसेको बैठकले उनलाई सो पदमा उठाउने निर्णय गरेको हो। अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र सदस्य छ पद गरी कूल १३ पदमा निर्वाचन हुँदैछ।
यसअघि सङ्घको अध्यक्ष पदमा सङ्घको महासचिव डा. लोचन कार्कीलाई उठाउने निर्णय भएको थियो। यसैगरी दुई वटा उपाध्यक्ष पदमा डा. शिवकुमार श्रेष्ठ र डा. अनिलविक्रम कार्की, सहसचिव पदमा चिकित्सक प्रकाश बुढाथोकी, कोषाध्यक्ष पदमा चिकित्सक शिवजी पौडेल र सहकोषाध्यक्ष पदमा डा. विश्वराज दवाडीलाई उठाउने निर्णय भएको छ।
यसअघि डा पुष्पमणि खरालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन्। विसं २००७ फागुन २० गते नेपाल डा. सङ्घको स्थापना भएको थियो। स्थापना समयदेखि हालसम्म सङ्घको नेतृत्व प्रजातान्त्रिक चिकित्सकले गर्दै आएका छन्।
यसैबीच सङ्घले आज सूचना जारी गरी केन्द्रीय निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। निर्वाचन कार्यक्रमअन्तर्गत मंसिर १४ गते शनिबारसम्म सङ्घको आजीवन सदस्य बन्नुपर्ने, मतदाताको नामावली मंसिर २३ गते सोमबार प्रकाशित हुने, उम्मेदवारको मनोनयन दर्ता मंसिर २७ र २८ गते १ बजेसम्म हुने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर ३० गते सोमबार हुने जनाइएको छ।
सङ्घको १६ वटा शाखा कार्यालयमा माघ ४ गते शनिबार र ५ गते आइतबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म र केन्द्रीय कार्यालयमा माघ १७ गतेदेखि २१ गते मङ्गलबारसम्म सोही समयमा गोप्य मतदान हुने सूचनामा जनाइएको छ।
मत गणना माघ २२ गते बुधबार ११ बजेपछि हुनेछ। सङ्घको प्रमुख निर्वाचन अधिकृतमा डा. बाबुराम मरासिनी र निर्वाचन अधिकृतमा डा. नवीन्द्रराज विष्ट र डा. योविनकुमार यादव रहेका छन्।