तस्वीरःअनलाइन खबर
काठमाडौं–मंसिर ५ गते विहिवारबाट छायांकनमा जान लागेको चलचित्र ‘चपली हाइट ३’ को शुभसाइत गरिएको छ। कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो। अर्जुन कुमारको निर्माणमा बन्न लागेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दैछन्। चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतमको साथमा नव–कलाकार महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ।
चलचित्रको शुभसाइत समारोहमा नायिका खड्काले भनिन्,‘चलचित्रको छायांकन सुरु नभएकाले पनि म अझै मेरो भूमिकालाई लिएर दोधारमा छु। म कुनै भूमिकामा पुरै प्रवेश त गर्दिनँ। मेरो दिमागमा मैले पाएको भूमिकालाई यसरी गर्ने भन्ने त छ। तर, छायांकनमा गएपछि त्यसले गती लिन्छ होला।’
सस्पेन्स थ्रीलर कथामा बन्ने चलचित्रमा आफू सोझी यूवतीको भूमिकामा देखिन लागेको स्वस्तिमा बताउँछिन्। यस्तै, अर्की नायिका सुपुष्पा भट्टले आफ्नो भूमिकालाई लिएर उत्साहित रहेको बताइन्। निर्माता अर्जुन कुमारले सबैको साथ र सहयोगका कारण चलचित्र राम्रो बन्नेमा आफू विश्वस्त रहेको सुना। ‘चपली हाइट’का दुई सिरिज चर्चामा रहेका थिए। यसपटकको सिरिजको कथा बलियो भएर नै आफूले साइन गरेको स्वस्तिमाको तर्क छ। यो सिनेमाको पहिलो सेरिजमा नायिका बिनिता बराल निकै बिवादमा आएकी थिईन्।