एजेन्सी – सन् २०१२ अक्टोबर १२ मा यूकेको स्पेशल फोर्सले अफगानिस्तानको एउटा गाउँमा चार व्यक्तिलाई गोली हानेर मार्यो।
मृतकका परिवारले ती चारमध्ये दुईजना बालक भएको बताएका छन्। उक्त घटनामा युद्ध अपराध भएको जस्तो देखिन्छ। तर अहिलेसम्म कसैलाई पनि कारबाही भएको छैन।
जानकारीः यो सामग्रीले केही पाठकलाई विचलित बनाउन सक्छ।
प्रत्यक्षदर्शीहरूले १२ वर्षीय अहमद शाह र १४ वर्षीय मोहम्मद तयैव त्यो रात १७ वर्षीय नाइक मोहम्मद र उनका दाजु २० वर्षीय फजलसँग सुतेको बताउँछन्। राति आठ बजेतिर ब्रिटिश र अफगानी सेनाले लोय वाग गाउँमा प्रवेश गरेको र गाउँका सबै घरमा छिरेको थियो।
यूकेका एक सैनिकले एउटा घरभित्र छिरेर गोली चलाएका थिए। नाइक र फजलका दाजु सुल्तान मोहम्मद ती सैनिक फर्किएपछि घटनास्थलमा पुगे। “त्यहाँ मैले जताततै हड्डी र दाँत देखेँ। ती चार जना लडेका थिए र जताततै रगत थियो,’’ उनले बताए।
उनीहरूकी आमा सब्बाह त्यही कोठामा बिहानसम्म बसिन्। उनी अझै त्यहाँ चियाका कपहरू भएको सम्झिन्छिन्। सब्बाहले भनिन्, “ती कपहरू रगतले भरिएका थिए। केटाहरूलाई टाउकोमा गोली हानिएको थियो।’’
भोलिपल्ट ती चार जनाको शव स्थानीय मस्जिदमा राखियो। उनीहरू निर्दोष भएको मानिन्छ। तत्कालीन जिल्ला गभर्नर मोहम्मद इब्राहिमका अनुसार अफगानी सेनाले फजल मोहम्मदलाई निसाना बनाइएको बताएको थियो।
“म उनलाई दैनिक भेट्थेँ। उनी कसरी तालिबानको कमान्डर हुन सक्छन्?’’ उनी प्रश्न गर्छन्। ‘यदि उनीहरू तालिबान भएको भए सबैभन्दा पहिले मलाई डर लाग्नुपर्ने...। म उनीहरूलाई जेल हाल्ने वा मार्ने पहिलो मान्छे हुन्थेँ।’
द सन्डे टाइम्स र बीबीसी प्यानोरामाले संयुक्त रूपमा त्यो दिन के भएको भनेर अनुसन्धान गरेका छन्। अनुसन्धानमा त्यो दिन युद्ध अपराध भएको प्रमाण फेला परेको छ।
‘हत्या र नियन्त्रण गर्ने यन्त्र’
लोय वागमा भएको जस्तो कारबाहीमा तालिबानलाई निसाना बनाइन्थ्यो। अफगानिस्तानमा त्यो सामान्य बनेको थियो। विशेष सैन्य समूहहरूले प्रायः रातको अँध्यारोमा ‘गिरफ्तार वा हत्या गर्ने’ त्यस्ता कारबाही सञ्चालन गर्थे। ती समूहले गुप्तचर संयन्त्रले नाम उपलब्ध गराएका व्यक्तिलाई तारो बनाउँथे।
भूतपूर्व सैनिक अधिकृत तथा युद्धकलाविज्ञ फ्र्यान्क लेड्विजका अनुसार तारोमा कुनै निश्चित व्यक्ति भए पनि नभए पनि राति छापा मार्न जाने चलन थियो।
‘यो निरन्तर (मानिसको) हत्या गर्ने र नियन्त्रणमा लिने यन्त्रजस्तै हो।’ यस्ता छापामा मारिएका केही मानिस तालिबान पनि हुन्थे। तर कतिपय अवस्थामा जासुसी संयन्त्रले गलत व्यक्तिको नाम दिएका प्रमाणहरू पनि छन्।
सन् २०१० सम्म संयुक्त राष्ट्रसङ्घको गैरन्यायिक हत्यासम्बन्धी विषयका विशेष दूत फिलिप एल्स्टनले रात्रिकालीन छापामा निर्दोष मानिसहरू मारिएका धेरै उजुरी प्राप्त भएको बताएका छन्।
उनले भने, “यीमध्ये धेरै आरोपमा सत्यता छ भन्नेमा म विश्वस्त छु। यस्ता छापामा धेरै नागरिकलाई अनुचित रूपमा मारिएको निष्कर्ष हामी निकाल्न सक्छौँ।’’संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा यस्ता छापामा ३०० भन्दा धेरै निर्दोष नागरिकको मृत्यु भएको बताउँदै आएको छ।
चार जनाको हत्या
चार जनाको मृत्यु भएको उक्त घटनाले स्थानीय स्तरमा निकै आक्रोश उत्पन्न गरायो। त्यसबारे रोयल मिलिटरी पुलिस (आरएमपी) ले अनुसन्धान पनि गर्याे।
आरएमपीले गरेको बृहत् अनुसन्धानमा दर्जनौँ व्यक्तिको सन्दिग्ध मृत्युमा यूकेका सैनिकको संलग्नताबारे अध्ययन भयो। आरएमपीसम्बद्ध सूत्रले बीबीसी प्यानोरामा र द सन्डे टाइम्सलाई यसबारे जानकारी उपलब्ध गराएका हुन्।
अनुसन्धानका क्रममा चार जनाको हत्या गर्ने सैनिकले आत्मरक्षाका लागि गोली चलाएको दाबी गरेका छन्। दुई जनाले झ्यालबाट हतियार तेर्साएको हुनाले र बाँकी दुई जना अचानक अँध्यारोबाट बाहिर निस्किएकाले गोली चलाएको उनले अनुसन्धानकर्ताहरूलाई बताएका थिए।
तर मृतकका परिवारले त्यो भनाइ असत्य भएको बताएका छन्। उनीहरूले ती चारै जनासँग कुनै हतियार नभएको र उनीहरू अत्याधुनिक हतियारले सुसज्जित ब्रिटिश सैनिकमाथि कुनै खतरा हुन सक्ने अवस्था नरहेको बताएका छन्। “ती चारै जना चिया पिउँदै थिए र बसिरहेकै ठाउँमा उनीहरूलाई मारियि,’’ सुल्तान मोहम्मदले बताए।
बीबीसी प्यानोरामाले प्राप्त गरेका तस्बिरहरूमा कोठाको भित्तामा गोलीको दाग देखिन्छ। त्यस्ता धेरै दागहरू भित्तामा दुई फिटमाथि छन्। यसले मृतकका परिवारको दाबीलाई बल प्रदान गर्छ। रोयल मिलिटरी पुलिसका अनुसन्धानकर्ताहरूले ती सैनिकलाई चार जनाको हत्याको आरोप लगाउन खोजेका थिए।
सो कमान्डको नेतृत्व गरिरहेका अधिकृत र उनका हाकिममाथि पनि झुटो प्रतिवेदन दिएर न्यायलाई प्रभावित पार्न खोजेकोको मुद्दा चलाउन खोजिएको थियो।
यूकेको स्पेशल फोर्सका ती वरिष्ठ अधिकृतहरू बालकहरूको हत्याको घटना ढाकछोप गरेको आरोप थियो। तर सेनाले मुद्दा नचलाउने निर्णय र्गयो। पछि सन् २०१७ मा सरकारले अफगानिस्तानको कारबाही स्थगन गर्ने घोषणा गर्यो।
तर बीबीसीले भेटेका प्रमाणहरू देखाउँदा क्राउन प्रोसिक्यूशन सर्भिसका पूर्वप्रमुख लर्ड केन मक्डोनल्डले यो घटनाको पुनः परीक्षण हुनुपर्ने बताए। ‘गोलीका निसाना र ती सैनिकले दिएको बयानमा तादात्म्य देखिँदैन,’ उनले भने, “यो परिवारको दाबीसँग भने मिल्छ।’’
‘यदि त्यो कुरा सही हो भने घटनापछि झुटो कागजपत्र बनाएको देखिन्छ। त्यसले त्यो दिन त्यो कोठामा के भएको थियो भन्ने कुरामा झन् शङ्का गर्नुपर्ने बनाउँछ।’
यूकेको रक्षा मन्त्रालयले सैन्य कारबाही कानुनअनुरुप भएको र आरोपबारे विस्तृत अनुसन्धान भएको बताएको छ। मन्त्रालयले ढाकछोपको प्रयास देखिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताएको छ। उसले आफ्नो सेनाले इराक र अफगानिस्तानमा ठूलो साहस र व्यावसायिकता देखाएको जनाएको छ।
“भनिएका घटनाहरूमा गहिरो अध्ययनपछि मुद्दा नचलाउने निर्णय गरिएको हो,’’ उसले भन्यो। ‘अनुसन्धान र मुद्दाबारे गरिएका निर्णयहरू मन्त्रालयबाट स्वतन्त्र हुन्छन् र तिनमा बाहिरी विज्ञहरूको सुझाव लिइएको हुन्छ।’ बीबीसी