तस्वीरः अनलाइन खबर
काठमाडौं–लामो समयको प्रयास पछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आफ्नै निजी भवन निर्माण गरेको छ। नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रसँग आवद्ध रहेका विभिन्न संघसंस्थामा चुनावी बहसको बेलामा गर्मिने आफ्नै भवनको चर्चा चुनावपछि सेलाउँछ। तर, लोकगायक बद्री पंगेनीको अध्यक्षतामा रहेको यो संस्थाले धापसीमा भवन तयार गरेको हो। यो कार्यको अहिले धेरैले प्रशंसा गरिरहेका छन्। लोक तथा दोहोरी गीतसँग सम्बन्धित कलाकारहरुमा खुसी छाएको छ।
प्रतिष्ठानका अध्यक्ष पंगेनी भने भवन निर्माण हुनु ठुलो कुरा नभएको बताउँछन्। उनले भने ‘यो भवन निर्माण गर्नु ठुलो कुरा हो जस्तो मलाई लाग्दैन। देशका धेरै चर्चित कलाकारहरु यो संस्थामा हुनुहुन्छ। त्यसैले पनि यो काम गर्न गाह्रो थिएन।’
भाडाको घरमा बस्दा मिटिङ गर्न, संस्थागत फाइलहरु सुरक्षित राख्नको लागि साह्रै सकस परेको पंगेनी बताउँछन्। आफू अध्यक्ष भएको खण्डमा एउटा भवन बनाउने संकल्प पंगेनीले पहिले नै गरेका थिए। त्यसैलाई साकार पार्नको लागि भवन निर्माणलाई विशेष जोड दिएको उनी बताउँछन्। उनले भने, ‘पहिला भाडाको घरमा त घरबेटीले पनि किचकिच गर्ने, मिटिङको लागि ठाउँ नपुग्ने थियो। अब भने त्यो झमेला हटेको छ।’
निकै आकर्षक डिजाइनमा तयार भएको यो भवनको अनुमानित लागत १ करोड १५ लाख भएको पंगेनीले बताए। उनले भने, ‘हामीले ८९ लाख नगद खर्च गरेका छौँ। बाँकी हरेक तवरबाट जिन्सी, श्रमदानहरु भएका छन्। त्यसैले अनुमानित रमक १ करोड १५ लाख छ।’
यत्तिका रकम विभिन्न संघ संस्थाहरुबाट सहयोग मिलेको उनले बताए। उनले भने, ‘हाम्रो विभिन्न देशमा शाखाहरु छन्। सहयोग त्यताबाट पनि मिलेको छ। देशको विभिन्न प्रदेश सरकारहरुबाट पनि हामीले सहयोग पाएका छौ। त्यसैले यो सम्भव भएको हो।’
लोक दोहोरी क्षेत्रमा लागेका कलाकारहरुको लागि यो खुसीकै कुरा भएको उनले बताए। आगमी दिनमा आउने कलाकारहरुलाई पनि गर्व गर्न लायक काम भएको बद्रीले बताए। चारैतिर अहिले बद्रीको कार्यकालको निकै प्रशंसा हुन थालेको छ।