ललितपुर – ललितपुर महानगरपालिकाले सकेका ढुंगेधारा मर्मत सम्बन्धि योजना अघि बढाएको छ। महानगरले ढुंगेधाराको संरक्षणका लागि यस्तो योजना अघि बढाएको हो।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यो योजनाअघि बढाइएको बताए। ‘शहरको ब्युटीफिकेसन अन्तर्गत मृत तुल्य यी ढुंगेधारामा पानी झारेर शहरलाई सुन्दर बनाउन यो काम थालेका हौं’, उनले भने। ललितपुर महानगरको वडा–६ र १७ मा रहेका ढुंगेधारामा पानी ल्याउन उपभोक्ता समिति गठन गरेर छिट्टै काम थालिने प्रमुख महर्जनले बताए।
वडा–६मा सुन्धारा, १७मा सिन्चा हिटी र मनी मण्डप हिटी लगायतका ढुंगेधाररा रहेका छन्। ढुंगेधारामा पानी ल्याउनका लागि तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै प्रयागलाल जोशीले ढुंगेधाराको मुहान मासिएको र संरक्षण नभएकाले पानी आउन छोडेको बताए।
‘मुहान संरक्षण गर्ने र वर्षातको पानी संकलन गरेर यी धारामा पानी ल्याउँछौ’, उनले भने,’यी तीन वटा धाराको मुहान नाय्ख्यमा छ, नाय्ख्य ललितपुर महानगर–१५ मा पर्छ।’
जोशीले ढुंगेधाराको सतह भन्दा पानीको मुहानमाथि भए पानी सजिलै आउने बताए। मृत तुल्य भएका ढुंगेधारामा पानी ल्याउनका लागि राजकुलोलाई पुनर्जि्वित गर्नुपर्ने उनले बताए। टिकाभैरवमा रहेको राजकुलो सुनाकोठीसम्म व्यवस्थित छ।
महानगरका सल्लाहकार प्रफुल्लमानसिंह प्रधानले पानी नआउने ढुंगेधाराले सहरको सौन्दर्य बिगारेको बताए। ‘यो काम सुरु गर्न अब ढिला गर्नु हुदैन, पानी झर्ने बनाउन दिगो समाधान खोज्नुपर्छ, त्यो भनेको राजकुलोलाई पुनर्जि्वित बनाउनु हो, त्यस तर्फ पनि काम थाल्नुपर्छ’, उनले भने।
महानगरका इन्जिनियर रुद्र गौतमले महानगरको योजनाले सहरलाई सजीव र सुन्दर बनाउने बताए। उक्त योजनालाई सफल बनाउन स्थानीय बासिन्दालाई जिम्मेबार बनाउनुपर्ने बताए। ‘ यसो गर्दा तत्काललाई मात्रै होइन, संरक्षणको लागि समेत सहयोग पुग्छ’, उनले भने।
कार्यक्रममा वडा १५ का अध्यक्ष सुदर्शन मिश्रले ढुंगेधाराको संरक्षणमा गर्न कानुन निर्माण गर्नुपर्ने बताए। उनका अनुसार कानुन भए त्यसकै आधारमा दण्डीत र पुरस्कृत गर्न सकिने बताए। वडानं १३ का अध्यक्ष गणेश केसीले ढुंगेधारा संरक्षणको लागि स्थानीयको सहयोग महत्वपूर्ण हुने बताए। अध्ययन प्रतिवेदन अनुसार ललितपुर महानगरभित्र ४७ वटा ढुंगेधारा छन्।