बागलुङ–नगर शिक्षा शाखा बागलुङले पटक पटकको पत्राचार र निर्देशन अटेर गरेका विद्यालयमा कानूनी कारवाही प्रक्रिया थालेको छ। अब देखि बिहान कक्षा संचालन गरेको भेटिएमा कानूनी कारवाही थाल्ने बागलुङ नगरपालिकाले जनाएको छ।
नगर शिक्षा शाखाले गत वैशाखदेखि पटक–पटक पत्राचार गरेर माध्यामिक विद्यालय दिउँसो १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको थियो। तर कात्तिक मसान्तसम्म पनि बिहानै चलाएपछि स्पष्टीकरण सोध्ने र कानूनी कारवाहीको तयारी थालेको हो।
सङ्घीयता कार्यान्वयनपछि नेपाल सरकारले उच्च मावि खारेज गरेर कक्षा १ देखि १२ सम्मलाई मावि तोकेको छ। मावि तहको पढाई दिउँसो सञ्चालन हुनुपर्ने स्पष्ट व्यवस्था भएर पनि अटेर गरेपछि कारवाही प्रक्रिया थालिएको बताइएको छ।
गत साउनदेखि केही विद्यालयले दिउँसोमा पढाउन थालेपनि बलेवाको गणेश माविसहित सदरमुकामका विद्यालयले अटेर गरेका हुन्। सदरमुकामकै कालीका कन्या मावि, चिल्ड्रेन लाईफ, अमर आदर्श, आदर्श विद्यामन्दिर, सनराईज, अमृत आदर्श, न्यू ओएसिस, गरिमा आवासीय मावि र फ्युचर ब्राइटर माविले पनि बिहान कक्षा चलाएको भेटिएको हो।
ती विद्यालयमा पटक–पटक पत्राचार गरेर निर्देशन दिए पनि निर्देशन पालना नभएको हो। नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले सात दिनभित्र निर्देशन पालना गर्न र निर्देशन किन पालना नगरिएको स्पष्टीकरण पेश गर्न पनि पत्राचार गरेका थिए। अटेर भइरहेमा कानून बमोजिम कारवाही गर्ने योजनासमेत नगरपालिकाले बनाएको छ। रासस