एजेन्सी– सोमबार उत्तर कोरियाली संचार, केसिएनएले आफ्ना नेता किम जोङ उन सैन्य हवाइ बलको निरीक्षण गर्न पुगेको खबर प्रकाशित गरेको छ। यता दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास स्थगित गराउँदै गर्दा किम चाहिँ तीन दिनमा दोस्रोपटक सैन्य निरीक्षणमा पुगेका हुन्। उत्तर कोरियासँगको निशस्त्रीकरण वार्तालाई केही सहज बनाउन भन्दै अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास नगर्ने निर्णय गरेका हुन्। अमेरिकी सेनासँग दक्षिण कोरियाली सेनाको संयुक्त अभ्यासलाई उत्तर कोरियाले पटकपटक आलोचना गर्दै आएको छ । उनीहरुको सैन्य अभ्यास युद्धको तयारी बराबर भएको भन्दै प्योङयोङले लगातार आपत्ति जनाउँदै आएको हो।
सोमबार किमले उत्तर कोरियाली सेनाको हवाइ एयरक्राफ्ट फोर्सको ‘सार्पसुटर सब–युनिट’ को हवाई अवतरण अवलोकन गरेका हुन्। यसमा किमले वास्तविक युद्धको परिस्थिति आइलागेमा आफ्नो तर्फबाट पूर्ण तयारी आवश्यक रहेको भन्दै सबै पक्षमा सुधार ल्याउन निर्देशन समेत दिएको केसिएनएले जनाएको छ। शनिबार पनि किम लडाकू विमान प्रतिस्पर्धाको कार्यक्रममा सहभागी भएको बताइएको थियो। तलदेखि माथिसम्म हतियार बोकेका शत्रुहरुको सामना गर्न हरक्षण तयार रहनुपर्ने भन्दै किमले गत शनिबार पनि राम्रो उपाय र बलियो राण्नीति अपनाउन आवश्यक रहेको बताएका थिए। यसरी किमले अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासकै दिन निरीक्षणमा जाने निर्णय गरेका हुन् वा तालिकामा त्यस्तो परेको भन्ने स्पष्ट जानकारी दिइएको छ। आइतबार मात्र यता राष्ट्रपति डोनाल्ड ट्रम्पले किमलाई छिटै निर्णय गरेर सम्झौतामा आइहाल्न सन्देश पठाएका थिए र चाँडै भेट्नेछु भनेर ट्वीट गरेका हुन्।
गत फेब्रुअरीमा भियतनामको हनोइ ट्रम्प–किम सम्मेलनपछिदेखि दुई देशबीच कुनै सहमति र सफल वार्ता भएका छैनन्। यस्तोमा किमले ट्रम्प प्रशासनलाई यस वर्षको अन्त्य सम्मको समय दिइ स्वीकार्य हुने किसिमको सम्झौता प्रस्ताव गर्न भनेका हुन्। अमेरिकाले प्रतिबन्ध र दबाबकै भरमा वार्ता गर्न खोजेमा उत्तर कोरियाले नयाँ मार्ग चुन्ने चेतावनी समेत दिइसकेका छन्। उनको सो भनाइपछि उत्तर कोरियाले थुप्रै मिसाइल परीक्षण गरिसक्यो भने केही महिनादेखि नै सैन्य अभ्यास र प्रशिक्षणमा पनि जोड दिइरहेको पाइएको छ। केसिएनएका अनुसार शनिबारको सैन्य कार्यक्रमप्रति किमले सन्तुष्टि व्यक्त गरेका थिए। राेएटस्