एजेन्सी– बेल्जियममा एक बालकले ९ वर्षको उमेरमै स्नातक डिग्री हासिल गर्ने कोर्स सुरु गरेका छन्। लरेन्ट साइमोन्स नामक ती बालक हाल एइन्डहोभन युनिभर्सिटी अफ टेक्नोलोजी, टीयुइमा इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहेका छन्। सो विषय ग्राजुएट गर्ने उमेर भएका साधारण विद्यार्थीका लागि समेत कठिन साबित हुने गरेको छ तर लरेन्टलाई भने युनिभर्सिटीका सबै स्टाफले असाधारण प्रतिभायुक्त बालक र अत्यन्तै बृद्धिमानी भनि व्याख्या गरेका छन्।
उनका पिताले संचार माध्यम सीएनएनसँग बताएअनुसार इलेक्ट्रिकल इन्जिनियरिङपछि लोरेन्ट त्यही विषयमा पिएचडी हासिल गरि चिकित्सा सम्बन्धी पनि डिग्री प्राप्त गर्न चाहन्छन्। लरेन्टका हजुरबुवा र हजुरआमाले बारम्बार उनको असाधारण बौद्धिक क्षमताका बारेमा बताउने गरेपनि आफूहरु त्यसप्रति पहिले कहिल्यै गम्भीर नरहेको उनका आमाबाबु लिडिया र एलेक्जेन्डर साइमनले बताएका हुन्। यस्तोमा लरेन्टका शिक्षकहरुले उनको यस प्राकृतिक उपहारका बारेमा बताएपछि मात्र वास्तविकता स्वीकार गरेको बताए । उनकी आमा भन्छिन्। सबै शिक्षकहरुले लरेन्टमा एक विशेष किसिमको क्षमता देखेको बताए।
त्यसपछि नै स्कुलका शिक्षकहरुले लरेन्टको क्षमता कहाँसम्म सिमित छ भनेर जाँच गर्न अनगिन्ती परीक्षा लिएका हुन् । पिता एलेक्जेन्डर भन्छन्न् “उनीहरुका अनुसार लरेन्ट ‘स्पन्ज’ जस्तै छन् र उनको दिमागले जस्तोसुकै कुरा पनि तुरुन्तै टिप्न सक्छ।” वास्तवमा लरेन्ट डाक्टरहरुको परिवारबाट आउँदछन्। तर उनीहरुलाई अझैपनि आफ्नो छोराले कसरी त्यति छिटो पढ्न सकेको भन्नेबारे कतैबाट स्पष्टिकरण प्राप्त नभएको बताए। यसबारेमा लिडियाले हाँस्दै ठट्टा गर्दै भनेकी हुन् “मेले गर्भावस्थामा धेरै माछा खाएकी थिएँ । कतै त्यहि भएर त होइन? ”
यसरी टीयुइले पनि लरेन्टलाई अरु विद्यार्थी भन्दा छिटै कोर्स लिन अनुमति दिइसकेको छ। टीयुइ स्नातक डिग्रीमा इलेक्ट्रिकल इन्जिनियरिङका शैक्षिक अध्यक्ष स्जोएर्ड हल्सोफले भने, “यो कुनैपनि हालतमा सामान्य होइन। तर विशिष्ट विद्यार्थीहरुले उपयुक्त कारण भएमा तालिका व्यवस्थित गरि छोटो समयमै पढाइ पूरा गर्न सक्छन्। ” यसका साथै उनले लरेन्टलाई सो युनिभर्सिटीमा अध्यरत हालसम्मकै तेज छात्र भनि प्रशंसा समेत गरेका हुन्। तर बुद्धिमानी मात्र नभएर उनी भावनात्मक पनि रहेको उनको भनाइ छ।
यसरी उनीबारे चर्चा सुरु भएसँगै लरेन्टलाई भर्ना लिन विश्वभरका प्रतिस्ठित युनिभर्सिटीहरु सम्पर्क गर्न आइरहेका छन् जसमध्येबाटै उनले पिएचडी गर्ने बताइएको छ। उनका पिता भन्छन्, “लरेन्टले बिना कुनै समस्या जेसुकै जानकारी पनि सहजै याद गर्न सक्छन्। यस्तोमा हामी उनको यो शीपलाई नयाँ आविस्कार गर्न र रिसर्च गर्नमा केन्द्रित गराउन चाहन्छौँ। ”
तर कम उमेरमै यति ठू्रलो उपलब्धी हासिल गरेपनि उनको बाल्यकाल भने साधारण रुपमै बितोस् भन्ने सुनिश्चित गर्न उनका आमाबाबुले विशेष सतर्कता अपनाइरहेको पनि बताए। एलेक्जेन्डर भन्छन् “हामी ऊ यसबारेमा धेरै गम्भीर नहोस् भन्ने चाहान्छौँ। किनकी उसले आफ्नो ट्यालेन्टका साथै बालक भएको पनि आभास गर्नुपर्छ।” पढाइ बाहेक लरेन्टलाई आफ्नो घरपालुवा कुकुरसँग खेल्न र अन्य युवाहरु जस्तै मोबाइल चलाउन मनपर्छ। उनको जीवनको लक्ष्य चाहिँ कृत्रिम अङ्ग निर्माण गर्नुरहेको उनले बताएका हुन्। – सिएनएन