एजेन्सी– चीनले मंगल ग्रहमा अवतरण गर्ने ‘ल्यान्डर’ को पहिलो सार्वजानिक परीक्षण पूरा गरेको छ जसपछि यो २०२० को मंगल मिसनबाट एक कदम मात्र टाढा रहेको बताइएको हो। बेइजिङको उत्तरतर्फ रहेको हेबेइ प्रदेशमा गरिएको यस सफल परीक्षणका क्रममा उक्त यानलाई स्टिलका केबलमा जमिनको ७० मिटर माथि झुन्ड्याइएको थियो। ठूलो आवाजका साथ सुरु भएको सो परीक्षणमा ल्यान्डर सफलतापूर्वक अवतरण गर्न सकेको हो।
मंगल ग्रह मिसनमको सम्बन्धमा अवतरण गर्ने विषय नै सबैभन्दा ठूलो चुनौति रहँदै आएको छ। यस्तोमा अर्को वर्ष यान लन्च गर्ने तयारीमा रहेको चीन यो मिसनमा सफल भएमा सो उपलब्धी हासिल गर्ने अमेरिकापछिको दोस्रो देश बन्नेछ। नासाले पनि आगामी वर्ष मंगल मिसन सञ्चालन गर्ने बताइसकेको छ। चिनियाँ अधिकारीहरुका अनुसार सो ट्रायल यानको अवरोधहरु छल्न सक्ने क्षमता पहिचानका लागि सञ्चालन गरिएको थियो। मंगल ग्रहको गुरुत्वाकर्षण शक्ति पृथ्वीको एक तिहाइ मात्र रहेको छ। यस्तोमा चीनले अन्तर्रा्ष्ट्रिय मिडियाहरुलाई समेत परीक्षण कार्यक्रममा निम्ता गरेको हो।
पछिल्लो समय चीनले अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष परियोजनाहरुमा सहभागी हुन धेरै जोड दिइरहेको पाइएको छ तर अर्कोतर्फ अमेरिकाले भने नासालाई चीनको कुनैपनि अन्तरिक्ष कार्यक्रममा सहभागी हुनबाट निषेध गरेको छ। चिनियाँ राष्ट्रिय अन्तरिक्ष विभागका सह सञ्चालक वु यानह्वाले भनेका हुन् “मंगल मिसनको यान सम्बन्धी यो उपलब्धी धेरै ठूलो विकास र सफलता हो। ” यसअघि चीनले शक्तिशाली लङ मार्च ५ रकेट पनि निर्माण गरेको थियो जसलाई आगामी वर्ष लन्च गरिने बताइएको छ। तर २०१७ मा सो रकेटको परीक्षण असफल भएपछि चीनका अन्तरिक्ष मिसनमा ढिलाइ भएको हो। रिपोर्टका अनुसार यसै वर्षको अन्त्यतिर चीनले अर्को ठूलो परीक्षण पनि गर्नेछ।
अन्तरिक्ष शक्तिको प्रतिस्पर्धामा चीन धेरै ढिला सहभागी भएपनि पछिल्लो समय यसले अन्तरिक्ष मिसनका लागि अरबौँ डलर खर्च गरिरहेको छ। अमेरिकाले पहिलो मान्छेलाई चन्द्रमामा पठाइसक्दा मात्र चीनले पहिलो स्यटालाइट लन्च गरेको थियो। यसरी अहिले चीनले २०३० का लागि मानव सहित चन्द्रमामा अवतरण गर्ने मिसनको तयारी पनि गरिरहेको छ जसकै लागि आगामी वर्ष चन्द्रयान लन्च गरि अध्ययनका लागि स्याम्पलहरु संकलन गरि ल्याउने बताएको हो। त्यस्तै यसले अबको दुई वर्षमा २० मेट्रिक टनको स्पेस स्टेसन पनि लन्च गर्ने योजना बनाइरहेको छ। – सिएनएन