एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार आबुधावीमा भएको खेलमा ब्राजिलले एसियाली टोली दक्षिण कोरियामाथि ३–० को सहज जित दर्ता गरेको छ।
खेलको नवौं मिनेटमा ब्राजिलले लुकास पाकेटाको गोलमा अग्रता लिएको थियो। उनले रेनान लोडीको क्रसलाई गोलमा परिणत गरेका थिए। पहिलो हाफको ३६ औं मिनेटमा ब्राजिलले अग्रता दोब्बर पार्यो। बायर्न म्युनिखबाट खेलिरहेका मिडफिल्डर फिलिपे कोउटिन्होले फ्रिकिकमा दर्शनीय गोल गरेका थिए।
दोस्रो हाफको ६० औं मिनेटमा युभेन्टसका डिफेन्डर ड्यानीलोले गोल गर्दै ब्राजिलको जित सुनिश्चित पारे। उनले लोडीको क्रसमा गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक जोले बचाउन सकेनन्। यस जितसँगै केहि दवावमा रहेका प्रशिक्षक टिटेलाई सहज भएको छ। गत जुलाईमा कोपा अमेरिका जितेपछि ब्राजिल पछिल्ला ५ खेलमा जितविहिन रहेको थियो।
अब ब्राजिलले मार्च महिनामा हुने विश्वकप छनोटका खेलअघि अन्तर्रा्ष्ट्रिय खेल खेल्ने छैन। दक्षिण कोरिया भने हाल चलिरहेका एसियाली क्षेत्रको विश्वकप छनोटमा अपराजित रहेको छ। समूहको शीर्षस्थानमा रहेको कोरिया अर्को चरण पुग्ने लगभग पक्का जस्तै छ।