काठमाण्डौ– सिराहाको लहानबाट लुटिएको भनिएको आयल निगम विराटनगरको ट्याङकर धुनषामा फेला परेको छ। बाराको अमलखेगञ्जबाट डिपोबाट विराटनगरका लागि छुटेको ट्याङकर आइतबार राति बीच बाटोबाटै गायब भएको थियो। २० हजार लिटर डिजलसहित लुटिएको ट्याङकर धनुषामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रमदैयामा फेला परेको हो। ढल्केबरबाट १० किलोमिटर दक्षिणमा भेटिएको ट्याङकरमा तेल छैन। करिब ९ लाख रुपैयाँ बराबरको २० हजार लिटर तेल कहाँ खन्याए भन्ने नखुलेको प्रहरीले जनाएको छ।
आइतबार राति ना ४ ख ४१६३ नम्बरको ट्यांकर लुटिएको थियो। लुटिएको ट्याङकर लहानका ढुवानीकर्ता राजेशकुमार गुप्ताको हो। आइतबार राति खाना खाएर चालक र सहचालक सुतेको अवस्थामा गाडी लुटिएको गुप्ताले बताए। ‘खाना खाएर सुतेको बेला मान्छे आएर ड्राइभर र खलासीलाई कारमा राखेर ट्याङकर लगेछन्।’ उनले भने ‘चालक र सहचालकलाई बर्दीबासको जंगलमा छाडेछन्।’
प्रहरीले घटनाको अनुसन्धानका लागि चालक रामदेव यादव र सहचालक उमेश यादवलाई नियन्त्रणमा लिएको छ।