एजेन्सी– निर्णायक खेलमा हंगेरीलाई पराजित गर्दै वेल्स युरोकप २०२० को लागि छनोट भएको छ। मंगलबार राति भएको खेलमा वेल्सले हंगेरीलाई २–० गोलले हराएको हो।
वेल्सलाई जित दिलाउन आरोन राम्सीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। कार्डिफमा भएको खेलको १५ औं मिनेटमा वेल्सले शुरुवाती अग्रता बनाएको थियो। वेल्सका लागि आरोन राम्सीले ग्यारेथ वेलको पासमा गोल गरेका थिए।
पहिलो हाफमा एक गोल मात्र भएको खेलको दोस्रो हाफमा थप एक गोल भएको थियो। खेलको ४७ औं मिनेटमा राम्सीले नै गोल गर्दै वेल्सलाई २–० को सहज जित दिलाए। उनले किफेर मोरेको पासको सदुपयोग गरेका थिए। जितसँगै समूहमा दोस्रो स्थानमा रहेर वेल्स युरोकपमा छनोट भयो।
समूह ‘ई’ मा वेल्स ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो। यो समूहबाट क्रोएसिया १७ अंक जोड्दै शीर्षस्थानमा रहँदै छनोट भयो। हार बेहोरेको हंगेरीको भने छनोटको सम्भावना सकिएको छ।