हङकङ – सरकारविरुद्ध प्रदर्शन गर्दै आएका एक सयभन्दा बढी प्रदर्शनकारी मंगलवार पनि हङकङ विश्वविद्यालयभित्रै थुनिएका छन्।
हङकङकी कार्यकारी अधिकृत क्यारी लामले ६ सयभन्दा बढी व्यक्ति हङकङ पोलिटेक्निक परिसरबाट बाहिर गएको दाबी गरेकी छन्। बाहिर गएका व्यक्तिमध्ये १८ वर्षभन्दा कम उमेरका २ सय छात्राछात्रा भएको उनले बताइन्। प्रहरीले विश्वविद्यालयलाई चारैतिरबाट घेरा हालेको छ। विश्वविद्यालयबाट बाहिर निस्कन थालेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
लामले विश्वविद्यालय कब्जा गरेका प्रदर्शनकारीलाई आत्मसमर्पण गर्न आग्रह गरेकी छन्। पोलिटेक्निक युनिभर्सिटीमा आइतवार भएको हिंसात्मक प्रदर्शनबारे प्रतिक्रिया दिने क्रममा ल्यामले यस्तो बताएकी हुन्।
हङकङमा ४ हजारभन्दा धेरै प्रदर्शनकारी पक्राउ परेका छन्। प्रदर्शनकारीले हिंसात्मक प्रदर्शन रोक्नुपर्ने लामको अडान छ । साथै हतियार पनि छाड्नुपर्ने शर्त उनले अघि सारेकी छन्। हजारौं प्रदर्शनकारीले सडक, सपिङ मल लगायत सार्वजनिक स्थल कब्जामा लिएर प्रदर्शन गर्दैआएका छन्।
लामले भनिन्, ‘१८ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई तत्काल पक्राउ गरिएको छैन। केही समयमा उनीहरूलाई आरोप लगाइनेछ।’ उनले बाँकी ४ सयलाई थुनामा राखिसकेको जानकारी पनि दिइन्। उनले साप्ताहिक बैठकपछि विश्वविद्यालयभित्र रहेका विद्यार्थीलाई पनि बाहिर निकाल्न प्रयास गरिने बताइन्।
यसका लागि हरप्रयास गरिने पनि उनको भनाइ छ। जति सक्यो त्यति छिटो उनीहरूलाई बाहिर निकालेर शान्तिपूर्ण रूपमा आन्दोलन टुंग्याउनुपर्नेमा उनले जोड दिइन्।
हङकङमा विगत पाँच महिनादेखि प्रदर्शन हुँदै आएको छ। प्रदर्शनमा विद्यार्थी पनि सहभागी हुन थालेका छन्। उनीहरूले विश्वविद्यालय परिसरमै प्रदर्शन गर्न शुरु गरेका छन्। यो आन्दोलनलाई लिएर अमेरिका र बेलायतले चिन्ता व्यक्त गर्न थालेका छन्। सुपुर्दगी विधेयकलाई लिएर शुरु भएको यो आन्दोलनका सहभागीले अब प्रजातन्त्र र स्वायत्तताको माग गर्न थालेका छन्।
प्रदर्शनमा सहभागी हुनेमा छात्राको संख्या अत्यधिक रहेको छ। विद्यार्थी पनि आन्दोलनमा उत्रिएपछि यहाँका शैक्षिक संस्था बन्द गरिएका छन्। विद्यार्थीहरू मास्क लगाएर प्रदर्शनमा सहभागी हुन थालेका छन्।
प्रहरीले पनि अ श्रुग्याँस र हवाई फायर गरेको छ। प्रदर्शनकारीमाथि बल प्रयोग भएको र हिंसा भएको भन्दै पश्चिमा मुलुकले आलोचना गरेका छन्। चीनले भने हङकङको समस्या आन्तरिक विषय भएकाले यसमा बोल्न नहुने बताउँदै आएको छ।