एजेन्सी– मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई इंग्लिस क्लब टोटनह्याम हस्टपरले हटाएको छ। टोटनह्यामले घरेलु प्रतियोगितामा लगातार खराब प्रदर्शन गरेका कारण क्लबले उनलाई मंगलबार बर्खास्त गरेको बताइएको छ।
क्लबले मंगलबार एक विज्ञप्तिमार्फत बोर्डको गम्भीर छलफलपछि यो निर्णय लिएको क्लबका अध्यक्ष डेनियल लेभीले जानकारी दिएका छन्। जारी सिजन टोटनह्याम प्रिमियर लिगमा १२ औं चरणको खेल सकिँदा १४ अंक बटुल्दै १४ औं स्थानमा छ। खेलेका १२ खेलमध्ये टोटनह्यामले ३ खेलमा जित, ५ खेलमा बराबरी र ४ खेलमा हार बेहोरेको छ।
पोचेटिनो सन् २०१४ को मेमा साउथह्याम्पटनबाट टोटनह्याममा आएका थिए। उनले गत सिजन टोटनह्यामलाई च्याम्पियन्स लिगको फाइनलसम्म पु¥याएका थिए। उनको प्रशिक्षणमा टोटेनह्यामले गत जनवरीदेखि अवे मैदानमा खेल जित्न सकेको छैन। यो सिजन लिग कपमा टोटेनह्याम तेस्रो डिभिजनको कोलचेस्टरसँग तथा च्याम्पियन्स लिगको समूह चरणमा पनि बायर्न म्युनिखसँग आफ्नै मैदानमा ७–२ को पराजित भएको थियो।
क्लबले पोचेटिनोलाई हटाएसँगै सहायक प्रशिक्षक जेसस पेरेज, मिगेग डि अगस्टिनो र एन्टोनी जिमिनेजले पनि क्लब छोडेका छन्। स्रोतका अनुसार टोटनह्यामले मोउरिन्हालाई भित्र्याउने तयारी गरिरहेको छ।