तस्वीरः अनलाइन खबर
काठमाडौं– नेपाली चलचित्रलाई पछिल्लो समय केही सुधार आएको भन्ने गरिन्छ। तर नेपाली चलचित्रको व्यापारिक अवस्था हेर्दा, हिट चलचित्र सिरिजकै भर पर्नुपर्ने अवस्था देखिएको छ। सिरिजकै पछि कलाकार लागेका छन्। अनमोल केसी, पल शाह, प्रदिप खड्का जस्ता नायकहरु पनि सिरिजकै साथमा छन्। उनीहरु, आफूले नै काम गरेका हिट चलचित्रका सिरिजमा काम गरेर स्टारडमलाई बचाउने ध्यानमा छन्।
तर, यो सोचमा नायक मात्र होइन्, नायिकाहरु पनि छन्। नेपाली चलचित्रका केही नायिकाहरु सिरिजमा काम गरिरहेका छन्। जसलाई आफ्नो स्टारडम जोगाउन सजिलो पर्छ भन्ने लागेको छ। यो बर्ष नायिका स्वस्तिमा खड्काको ‘हजार जुनी सम्म र घामड शेरे’ रिलिज भैसकेका छन्। दुबै चलचित्र बक्स अफिसमा असफल भए। जबकी, स्वस्तिमा अभिनित ‘छक्का पन्जा २, नाई नभन्नु ल ५’ बक्स अफिसमा हिट छन्। सिरिजले नै उनको करिअरमा ठूलो मद्दत गरेको छ।
उनै, स्वस्तिमा ‘चपली हाइट’को सिरिजमा काम गर्दै्छिन्। यो बर्ष उनी यो चलचित्रको बक्स अफिसबाट चम्कने दाउमा छिन्। नायिका पूजा शर्मा अभिनित २ चलचित्र यो बर्ष रिलिज हुने देखिएको छ। जसमध्ये, ‘पोई पर्यो काले’ रिलिज भैसकेको छ। यो चलचित्रले व्यापार त सुखद गर्यो, तर यसले निर्माताको लगानी सुरक्षित गर्न पर्याप्त भने हुँदैन। यसैले, पूजाका लागि यो बर्ष रिलिज हुन लागेको ‘म यस्तो गीत गाउँछु २’ सुपरहिट हुन आवश्यक छ।
बक्स अफिसमा पूजा र नायक पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’ हिट भैसकेको छ। यसको सिरिज पूजाका लागि स्टारडम चम्काउने हतियार पनि हो। त्यसैले पूजाले निकै मेहनत गरेको पनि बताएकी छिन्। गतबर्ष रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ पछि नायिका सुहाना थापाको चर्चा चुलियो। सुहाना करिब १ बर्षको अन्तरपछि यही चलचित्रको चौथो सिरिजमा काम गर्दै्छिन्। आफ्नो होम प्रोडक्शनको चलचित्र बाहेक उनी अन्य ब्यानरको चलचित्रमा तत्काल काम गर्ने मुडमा छैनन्। ‘ए मेरो हजुर ४’ को व्यापारले सुहानाको करिअरलाई अझ नयाँ तरिकाले स्थापित गर्नेछ।
नायिका उपासना सिंह ठकुरीले पनि ‘कबड्डी कबड्डी कबड्डी’ मा काम गरिन्। उनी अभिनित यो चलचित्र बक्स अफिसमा सुपरहिट भयो। ‘क्याप्टेन’ बाट क्लिन हिटको स्वाद चाख्न नपाएकी उपासना ‘कबड्डी’ को सिरिजबाट चम्किइन्। नायिका वर्षा राउतको पनि यो बर्ष दुइवटा चलचित्र रिलिज भएको छ। उनी अभिनित ‘दाल भात तरकारी र जात्रै जात्रा’ यो बर्ष रिलिज भैसकेका छन्। जसमा, ‘जात्रै जात्रा’ ले बक्स अफिसमा धुम मच्चायो। बर्षालाई ‘जात्रा’ को सिरिजले करिअर अगाडि लैजान सहयोग गर्यो।
नेपाली चलचित्रमा अहिले सिरिजको लहर नै चलेको छ। हिट चलचित्रका मात्र होइन, असफल चलचित्रका पनि सिरिज बनिरहेका छन्। यसले, नाम चलेकै कलाकारलाई करिअरमा चम्कन सहज बनाएको छ। सिरिज बाहेक के कुराले चलचित्र हिट बनाउँने त्यतातिर कसैको ध्यान नजानु कसको कमजोरी भनौं?