एजेन्सी–अफगानिस्तानमा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा दुई अमेरिकी अधिकृतको मृत्यु भएको छ। राजधानी काबुलको दक्षिणमा रहेको लोगार प्रान्तमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।
घटनाको जिम्मेवारी लिँदै अफगानिस्तानको तालिबानले युएस चिनोक हेलिकप्टर खसाएको एक ट्विटमार्फत बताएको छ। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले लोगारको पानग्राम क्षेत्रमा तालिबानलाई आक्रमण गर्न लागेको हेलिकप्टरलाई खसालेर पुर्ण रुपमा ध्वस्त पारेको बताए।
अफगान रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले भने दुर्घटनामा तालिवानको हात रहेको कुनै प्रमाण नभेटिएको साथै घटनामा अफगानी सेनाको कसैलाई चोटपटक नलागेको बताएका छन्। तालिवानले यसअघि पनि यस्ता दुर्घटना आफुले गराएको भन्दै जिम्मेवारी लिँदै आएको आरोप लगाउदैँ अफगान सरकारले तालिबानको दाबी खण्डन गरेको छ।
तालिबानले एक दिन अघि मात्र आफुले बन्धक बनाएको पश्चिमी देशका दुई नागरिकलाई रिहा गरेको थियो। तालिबान र सरकारबीच सम्बन्ध सुधारमा उक्त कदमले सहयोग पुर्याउने आशा गरिएको थियो।