तस्वीरः अनलाइन खबर
काठमाडौं–अहिले सानो पर्दाले सन्देशमूलक र कतिपयप यथार्थ सामाग्रीहरु पस्केर दर्शकहरुको माया बटुल्न सफल भएका छन्। सानो पर्दामा प्रशारण हुने अहिलेका लोकप्रिय टेलिसिरियलहरुमा विषेशगरि सामान्य विषयबस्तुलाई हाँस्यप्रधान रुपमा प्रस्तुत गर्ने गरिन्छ। सकेसम्म नाटकिय कथालाई टेलिसिरियलको खुराक बनाइन्थ्यो। काल्पनिक विषयमा टेलिसिरियलहरु निर्माण भइरहेका छन्। जसले दर्शकलाई सन्देश भन्दा पनि मनोरञ्जन मात्र दिइरहेका छन्।
तर, पछिल्लो समय भने टेलिसिरियलहरुले फरक विषयबस्तुलाई आफ्नो खुराक बनाइरहेका छन्। देशको सिमानाको विषयले धेरै हाँस्यकलाकारहरुको ध्यान खिचेको छ। टेलिभिजनको पर्दामा अहिले पारिवारिक सिरियलको खासै चर्चा छैन। थोरै, चलेका सिरियलमा हाँस्यप्रधान सिरियलकै मात्र दबदबा छ।
गत बिहिबार प्रशारण भएको चल्तीको सिरियल ‘सक्किगोनी’ टिमले देशको सिमाना बेचिएको कथालाई उठान गरेको छ। यो टेलिसिरियलमा देशका जनताहरु आफैसँग लडाई झगडा गर्दा अर्को देशले सिमाना मिचेको देखाइएको छ। आफ्नो भूमि आफ्नै आँखा अगाडि अरुले मिचेको र प्रतिकार गर्न खोज्दा कुटाई खानु परेको विषयलाई पनि ‘सक्किगोनी’ ले उठान गरेको छ।
सिमाना मिचिएपछि राजैनीतिक तबरबाट कुनै पहल नगरिएको पनि सिरियलमा उल्लेख गरिएको छ। कतैबाट सहयोग नहुने भएपछि जनता आफै जागरुक भएर मिचिएको सिमाना फिर्ता गर्न गरेको संघर्षलाई देखाइएको छ। सिरियलले नेपालीहरु बहादुर भएको चित्रण गरेको छ। ‘सक्किगोनी’ सिरियलका कलाकार तथा क्रियटिभ निर्देशक दीपक आचार्य ‘काकु’ ले देशमा भइरहेको समस्यालाई आफ्नो पेशाबाट आवाज उठाएको बताए। उनले भने,‘हामी हात हतियार बोकेर सिमानासम्म पुग्न सक्दैनौ।’ सबैभन्दा बलियो हतियार पनि आवाज नै हो जस्तो लाग्छ।
त्यसैले आफ्नो पेशाबाट आवाज उठाएका हौँ।’सिरियल प्रशारणमा आएपछि धेरैले राम्रो भएको प्रतिक्रिया दिएका छन्। तर, वास्तविकतासँग नजिक रहेर काम गर्न नसकिएको काकु बताउँछन्। उनले भने, ‘हामीले सांकेतिक रुपमा सिरियल तयार पारेका हौं। त्यसमा हामी सफल भएका छौं। तर, अझ वास्तविक गर्न सकेको भए राम्रो हुने थियो।’
युट्युबमा यो सिरियलले रेकर्ड नै बनाएको उनको दावी छ। भन्छन्, ‘२४ घण्टामा नै यसले १२ लाख बढी भ्यूज पाएको थियो।’ त्यस्तै, अर्को टेलिसिरियल ‘हल्का रमाइलो’ ले पनि सिमानाको कथालाई प्रस्तुत गरेको छ। आफ्नो सिमाना छिमेकीले मिचेपछि भूमी फिर्ताका लागि जनताले लडेको लडाईँलाई सिरियलमा देखाइएको छ।
यो सिरियलले राजनैतिक व्यक्तिहरुको मिलोमतोमा नै देशको भूमी मिचिएको देखाउन खोजेको छ। गत शुक्रबार प्रशारण भएको टेलिसिरियल ‘भद्रगोल’ को अन्तिम ४ मिनेटमा सिमाना मिचिएको विषयलाई उठाइएको छ। नारा लगाउँदै सिमानासम्म पुगेको दृष्य सिरियलमा समावेश छ। मंगलबारमात्र प्रशारण भएको ‘मेरी बास्सै’ मा पनि सिमानाको कथालाई प्रस्तुत गरिएको छ। आफ्नो मिचिएको भूमि फिर्ता गर्नको लागि गरिएको नाराबाजीलाई ‘मेरी बास्सै’ मा प्रस्तुत गरिएको छ।
मिचिएको सिमाना फिर्ता गर्न गएका जनताहरुमाथि भएको दमन पनि यो सिरियलमा देखाइएको छ। प्रायः टेलिसिरियलहरुको प्रस्तुती एकै किसिमको छ। विषयबस्तु उस्तै भएका कारण पनि प्रस्तुति मिलेको हुनुपर्छ। जे होस् अहिलेको जल्दोबल्दो समस्या देशको सिमा भएकोले यी सिरियलहरु प्रति दर्शहरुको माया बढेको हो कि?