काठमाडौं–मंसिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’ मा नायिका सुमी मोक्तान केन्द्रिय भूमिकामा छिन्। उनले चलचित्रकै लागि भनेर गरेको एउटा मेहनतले उनी चर्चामा छिन्। सुमीले चलचित्रका लागि २ बर्ष मार्सल आर्ट नै सिकेकी थिइन्। एक्सनमा समेत पोख्त नायिकालाई सामान्य कथाका चलचित्रमा काम गर्ने मुड छैन। उनी भन्छिन्,‘कलाकार भैसकेपछि एउटै भूमिकामा काम गर्छु भनेर सोच्नु हुँदैन। तर, मलाई फरक खालको कथामा काम गर्न भने मन छ। मलाई सधै बनिरहेका भूमिकामा काम गर्न मन लाग्दैन।’
उनले, नायिकाको भूमिकाको बिषयमा अब मेकरले सोच्नुपर्ने बेला आएको सुनाइन्। भनिन्, ‘अब नायिकालाई मुस्ताङमा लगेर कपडा उडाउने वा पर्दामा ‘बचाउ बचाउ’ मा मात्र सिमित राख्न हुँदै, वा कमजोर पात्रको रुपमा मात्र प्रस्तुत गर्नुहुँदैन। नायिकाले अब आफै चलचित्र बोक्नुपर्छ।’ सुमी भन्छिन्, ‘हाम्रो चलचित्र ‘सरौतो’ धेरैका लागि प्रेरणाको कथामा छ। नायिकाहरुले पनि अब नायकसँग सिमित भूमिकामा आफूलाई अल्झाइराख्न हुँदैन।’
हरि हुमागाँइको निर्देशनमा बनेको यो चलचित्रमा सुमीलाई बोल्न नसक्ने यूवतीको भूमिकामा देखाइएको छ। तर, चलचित्र हेर्ने दर्शकले नेपालमा पनि यस्तो खालका चलचित्र बन्न सक्दोरहेछ भनेर प्रतिक्रिया दिने दाबी सुमीको छ।