काठमाडौं– नेपाली क्रिकेटका पूर्व कप्तान तथा नेपाली क्रिकेटप्रेमीका ढुकढुकी पारस खड्का पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आबद्ध भएका थिए। युईएमा हुने टी–१० लिगमा पारसलाई टिम अबुधावीले किनेको थियो।
१० वर्ष नेपाली क्रिकेटको कप्तानी सम्हालेका पारसले पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा कस्तो प्रदर्शन गर्लान भन्ने धेरैको चासोको विषय थियो। अनुभवी अलराउण्डर पारसलाई टिम अबुधावीले पहिलो खेलको प्लेइङ ११ मा राख्दा धेरै क्रिकेटप्रेमी उत्साहित भएका थिए। तर पारसले उक्त खेलमा मात्र ३ बलको सामना गर्दै नटआउट ३ रन बनाए। टिम अबुधावीको क्वयल्याण्डर्ससँगको खेल टाई भएको थियो।
त्यस्तै दोस्रो खेलमा अबुधावीले नर्थन वारियर्सलाई ६ विकेटले पराजित गरेको थियो। नर्थन वारियर्ससँगको खेलमा पनि पारस टिममा थिए। उनी १ बलमा १ रन बनाउँदै नटआउट रहे। त्यसपछिको लागातार ३ खेलमा पारस टिममा परेनन्। पारस टिममा नरहँदा अबुधावीले तेस्रो खेलमा मराठासँग २४ रन तथा चौथो खेलमा बंगाल टाईगर्ससँग २७ रनले हारेको थियो भने वर्षाकाे कारण पाँचौं खेल प्रभावित भएसँगै अबुधावी र डेक्कन ग्लाडियटर्सले अंक बाँडेका थिए।
पारसले जारी लिगमा ४ बलमात्र खेल्न पाएका छन् र कतिपय खेलप्रेमीहरू उनले उक्त चार बलमा क्षमता प्रदर्शन गर्न सक्नुपर्ने बताउँछन्। तर अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पहिलाे पटक खेलिरहेका कुनै पनि खेलाडीले आफूलाइ चारै बलमा अब्बल प्रमाणित गर्न मुश्किल नै हुन्छ।
पारसको टी–१० लिगको प्रदर्शनले उनको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा निर्धारण गर्ने अनुमान गरिएको छ। तर टिम अबुधावीले पारसलाई क्षमता प्रदर्शन गर्ने मौका नै नदिएको क्रिकेट प्रेमीहरुको गुनासो छ। एक खेलमा मात्रै भएपनि टिम अबुधावीले पारसलाई टप अर्डरमा खेल्ने मौका दिएमा उनले आफूलाई प्रमाणित गर्न सक्थे कि? क्षमता प्रदर्शनकाे लागि पारसले एक माैका पाउनुपर्ने धेरैकाे बुझाइ छ।