एजेन्सी– स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली स्टार केलियन एमबाप्पेलाई क्लबमा भित्र्याउने प्रयास गरिरहेको बताइएको छ। फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छोडेसँगै अपेक्षाकृत प्रदर्शन गर्न नसकेको रियल एमबाप्पेका लागि विश्व किर्तिमानी रकम खर्चिन तयार भएको बुझिएको छ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायिक फुटबल खेलिरहेका एमबाप्पले फ्रेन्च लिग वानमा १ सय ४ खेलमा ६७ गोल र ३१ असिस्ट गरेका छन्। फ्रान्सलाई विश्वकप २०१८ को उपाधि जिताउन महत्वपूर्ण प्रदर्शन गरेका एमबाप्पेलाई रियल ३ सय ४३ मिलियन पाउन्ड (४ सय मिलियन युरो) खर्चन तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
रियलले जारी सिजनका लागि बेल्जियमका स्टार इडेन हजार्डलाई क्लबमा भित्र्याएपनि उनले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। रियल र एमबाप्पेबीच उल्लेख गरिएको रकममा सम्झौता भएमा एमबाप्पे विश्वकै सबैभन्दा महँगा खेलाडी बन्नेछन्।
यसअघि बार्सिलोनाबाट नेयमार १ सय ९८ मिलियन पाउन्ड (२ सय २२ मिलियन युरो)मा पीएसजी गएका थिए। जुन हालसम्मको विश्व कीर्तिमानी रकम हो।