काठमाडौं–सिनेमा रिलिज पछि मात्र सफल र असफल भन्ने कुरा थाहा हुन्छ। भोलि शुक्रबारबाट साम्तेन भुटियाको निर्दे्शित ‘च च हुईं’ रिलिज हुँदैछ। सिनेमाको मुख्य भूमिकामा आर्यन सिग्देल र मिरुना मगरले जोडी बाँधेका छन्।
यो सिनेमाबाट निर्देशकको साथमा आर्यन र मिरुनाले एउटै कामना गरिरहेका छन्, सिनेमा चलोस्। कामना गर्नु स्वभाविक छ, किनकी यी तीनैका पछिल्ला सिनेमा वक्सअफिसमा सफल हुन सकेका छैनन्। यस्तोमा सिनेमा हिट होस् भन्ने आशा त तीनै जनाले राख्नु स्वभाविक हो। यो सिनेमाको सफलताले उनीहरुको करियरका लागि पनि महत्वपूर्ण छ।
सिक्किमबाट ‘लेटर’ सिनेमाबाट बोकेर नेपाल छिरेका साम्तेनका कुनै पनि सिनेमा वक्सअफिसमा सफल भएका छैनन्। डेब्यू सिनेमादेखि नै उनी निर्दे्शित सिनेमा लगातार असफल हुँदै आएका छन्। ‘तान्द्रो’ सिनेमाबाट मिलेको समीक्षकीय तारिफ बाहेक उनीसँग रमाउने अर्को कुनै सफलता छैन। तैपनि एकपछि अर्को गर्दै सिनेमा गरिरहेका साम्तेनलाई ‘च च हुईं’ चल्नु अति जरूरी छ।
यसैगरी ‘हजार जुनीसम्म’ अनि त्यसअघि रिलिज भएको ‘कायरा’ बाट असफलता भोगेका आर्यनका लागि पनि यो सिनेमाको व्यापारिक रिपोर्टको अर्थ ठूलै छ।प्रेमकथाका रोमान्टिक पात्रमा विशेष रूचाइएका आर्यनका लागि यो सिनेमाले कस्तो नतिजा ल्याउँला? त्यो समयले बताउँला। आर्यनकै जस्तो अवस्थामा छिन् नेपाली रजतपटकी नवप्रवेशी मिरुना मगर। त्यसैले समग्रमा यो निर्देशक, कलाकार ३ जनाकै लागि चुनौतीको कुरा हो।