काठमाडौं– नेपालमा द्वन्द्वकाल अन्त्य भएको १३ वर्ष पूरा भएको छ। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र संघर्ष औपचारिक रूपमा २०६३ मंसिर ५ गते अन्त्य भएको थियो।
२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै औपचारिक रुपमा माओवादीको सशस्त्र संघर्षको अन्त्य भएको थियो। उक्त ऐतिहासिक सम्झौतासँगै नेपाल १० वर्षे द्वन्द्वबाट मुक्त भएको थियो।
तत्कालीन प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीचको सहमतिले स्वच्छ राजनितिक प्रतिस्पर्धा शुरु भयो। शान्तिपूर्ण राजनीतिक बाटोबाट मुलुकलाई अघि बढाउने उद्धेश्यमा निहित सहमति देशको ऐतिहासिक सफलता मानियो। विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुसार तत्कालीन जनसेनाको हतियार व्यवस्थापन तथा समायोजनको काम सकिइसकेको छ। त्यस्तै, संविधानसभा निर्वाचनबाट देशले नयाँ संविधान पनि पाइसकेको छ।
तर संक्रमणकालीन न्यायलाई टुंगोमा र्पुयाउने सहमति भने अझै कार्यान्वयनमा आउन सकेको छैन। यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन भए पनि द्वन्द्वपीडितले न्यायको महसुस गर्न सकेका छैनन्।
१ दशक बढी समयमा पनि संक्रमणकालीन न्याय निमटारा लाग्न नसकेपछि अन्तर्राष्ट्रिय समुदायले समेत चासो व्यक्त गर्दै आएका छन्। तैपनि यी दुई आयोग महिनौंदेखि नेतृत्वविहीन अवस्थामा छन्।