काठमाडौं– मन्त्रीपरिषदको पुनगर्ठन भएसँगै बिहिबार नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्। नयाँ मन्त्रीमण्डलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा हृदयश त्रिपाठीले पाएका छन्।
नवनियुक्त सामान्य प्रशासन मन्त्री त्रिपाठीले पदभार ग्रहण गर्दै निजामति क्षेत्रमा रहेको व्यक्तिगत, नीतिगत र संरचनागत समस्या हटाउने बताएका छन्। उनले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुनबाट जोगिनुपर्ने बताउँदै राजनीतिक सहमतिमा अघि बढ्ने जानकारी गराए।
काम गर्ने शैली आ–आफ्नो हुने भएकाले सबैको साथ र सहयोगबाट आफूले प्रभावकारी काम गर्ने जानकारी दिँदै संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्ने जनाए।
कतिपय विनियोजित रकम गलत शीर्षकमा प्रयोग हुने बताउँदै त्यसमा पारदर्शिता ल्याउने उनले बताएका छन्। स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई मिलाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।