काठमाडाैं– समाजवादी पार्टीका संघीय अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय फेरिएकोमा पूर्वप्रधानमन्त्री एवम् संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन्।
उपप्रधान तथा स्वास्थ्य मन्त्री रहेका यादवलाई मन्त्रीपरिषद् पुनर्गठन गर्दा कानुन मन्त्री बनाइएको छ। सरकारले छापामार शैलीमा यादवको मन्त्रालय फेरिदिएको भट्टराईले आरोप लगाएका छन्। उनले प्रधानमन्त्री केपी ओलीको कार्यशैली चित्त बुझ्दाे नभएकाे जनाउँदै नेपाली जनता माथि निरंकुश शासन गर्न खोजिएको बताए।
प्रधानमन्त्रीले मन्त्रीपरिषद् हेरफेरमा एकलौटी निर्णय गरेकोमा आपत्ति जनाउँदै भट्टराईले सत्ता साझेदार दलसँग छलफल नै नगरी मन्त्री हटाउनु र मन्त्रालय फेर्नु अलोकतान्त्रिक भएको अभिव्यक्ति दिए। संविधान संशोधनको लागि सरकारमा सामेल भएतापनि प्रधानमन्त्रीले उक्त कुरालाई वेवास्ता गरेको उनले जनाए।
बहुमतको सरकारले नै संविधान संशोधनलाई उपेक्षा गरेको भन्दै उनले प्रधानमन्त्री नै इमान्दार नभएको आरोप लगाए। प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य मान्यताको पालना नगरेको कारण ओलीबाट केहि आशा गर्न नसकिने बताए।