तस्वीरः अनलाइन खबर
काठमाडौं–भन्ने गरिन्छ कि कामले चलिन्छ कि भाग्य वा कर्मले, नेपाली चलचित्रमा केही निर्माता वा कलाकारहरुको लागि यही भनाई लागु हुँदै आएको छ। चलचित्र ‘गाजलु’ मा लगानी गरेर चलचित्र निर्माणमा होमिएका निर्माता हुन्, रोहित अधिकारी। उनले आफ्नो पहिलो चलचित्रमा नै नायक अनमोल केसी, नायिका श्रृष्टी श्रेष्ठ लगायतका कलाकारलाई अनुवन्धित गरेका थिए। यो चलचित्रले उनलाई व्यवसायिक रुपमा सफलता पनि दिलायो।
पहिलो चलचित्रमै यूवा स्टार मानिने अनमोल केसीलाई अनुवन्धित गरेर चलचित्र बनाएका रोहितले दोश्रो चलचित्रमा दिपकराज गिरी र उनको टिमसँग सहकार्य गरे। दिपकराज गिरी, दीपाश्री निरौलाले एकपछि अर्को हिट चलचित्र दिइरहेका थिए। आफ्नै ब्यानरमा ब्लकबस्टर चलचित्र दिइरहेका दिपक–दीपाको टिमलाई रोहितले आफ्नो ब्यानरसँग जोड्न सफल भए।
दोश्रो चलचित्र ‘छ माया छपक्कै’ ब्लकबस्टर भएपछि निर्माणमा रोहित स्थापित भएका छन्। ‘छ माया छपक्कै’ यो बर्षको हालसम्मकै सर्वा्धिक ग्रस कलेक्शन गर्ने चलचित्र बनेको छ। दुई चलचित्र निर्माण गरेरै निर्माताको रुपमा स्थापित बनेका रोहित अब दर्शकका लागि स्तरिय चलचित्र दिने बताउँछन । उनी भन्छन्, ‘मेरो ब्यानरमा बनेका २ चलचित्र लगातार दर्शकले मन पराइदिनुभयो। यसले मलाई झनै चुनौती बढेको महशुश भएको छ। अब, झनै स्तरिय चलचित्र दर्शकलाई दिनेछु।’ रोहित निर्देशक दिनेश राउतसँग सहकार्य गर्दै तेश्रो चलचित्र निर्माण गर्ने तयारीमा लागेका छन्। यो चलचित्रका लागि उनले नायक अनमोल केसीलाई अफर गरेका छन्।
रोहित भन्छन्, ‘म चलचित्र निर्माण गर्दा सवैभन्दा पहिले त कथा नै हेर्छु। तर, कथाको माग अनुसार हरेक कुरामा संझौता गर्दिनँ।’ नेपाली चलचित्र क्षेत्रमा यूवा निर्माताको आगमन भैरहेको छ। तर, सबै निर्माता सफल भने छैनन्। रोहित दर्शक र चलचित्रकर्मीले आफूमाथि गरेको विश्वास आफ्ना लागि महत्वपूर्ण भएको बताउँछन्, भने कतिपयले उनीसँग काम गर्दा सफल भईन्छ भन्ने सोच पनि बनाएका छन्। त्यो त भाग्यको कुरा हो तर असल कर्म गरे सफल पक्कै भईन्छ। सबैको ध्यान त्यतातिर जाओस् भन्ने हाम्रो चाहाना हो।