काठमाडौं – आजभन्दा ३८ वर्ष पहिले प्रचण्डले आफ्ना कार्यकर्ताबाट उपहारस्वरुप एउटा पेस्तोल पाएका थिए। तिनै कार्यकर्ता अहिले प्रचण्डको सदभाव पाएर मन्त्री बन्न पुगेका छन् ।
भारतको गोरखपुरमा ०३८ सालमा युवक संगठनको भेला हुँदै थियो। संगठनका केन्द्रीय अध्यक्ष प्रचण्ड थिए। भेलामा केन्द्रीय सदस्य लेखराज भट्टले प्रचण्डलाई ‘जनयुद्धको सफलताका लागि’ एउटा पेस्तोल उपहार दिए। र, त्यहीबेलादेखि प्रचण्ड र लेखराजवीच बढेको आत्मीयता अहिलेसम्म टुटेको छैन।
प्रचण्डको विश्वासपात्र मानिने भट्ट तेस्रोपटक मन्त्री बनेका छन्। केपी शर्मा ओली नेतृत्वमा पुनर्गठित मन्त्रिपरिषदमा पनि उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ।
विसं. ०१६ सालमा डोटीको सम्पन्न परिवारमा जन्मिएका र २०२१ सालमा कैलालीको अत्तरियामा बसाइँ सरेका भट्टसँग यसअघि श्रम मन्त्री र वाणिज्य तथा आपूर्ति मन्त्री बनेको अनुभव छ।