एजेन्सी– इजरेलका महान्यायाधिवक्ताले प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि घुस लिएको, जालझेल गरेको, निष्ठा भङ्ग गरेको तीनथरी अलग–अलग अभियोग लगाएका छन्।
नेतन्याहुमाथि धनी व्यापारीले दिएको उपहार स्वीकारेको र आफ्नो पक्षमा सकारात्मक समाचार प्रवाहका निम्ति पक्षधरता लिएको आरोप छ। प्रधानमन्त्रीले ती आरोपहरूलाई कू गर्ने प्रयासको रूपमा अर्थ्याउँदै गलत भावनाबाट उक्त प्रक्रिया प्रेरित रहेको आरोप लगाए।
उनले राजीनामा नदिने र कानुनी रूपमा त्यसो गर्न बाध्य नभएकोमा जोड पनि दिए। टेलिभिजन सम्बोधनमा नेतन्याहुले अधिकारीहरू सत्यको पछि नलागेर आफ्नो पछि लागेको बताए र अनुसन्धानकर्ताहरूमाथि अनुसन्धान गर्न देशलाई आग्रह गरे।
महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले आफूले गह्रुँगो मनले निर्णय लिएको बताए, तर त्यसबाट इजरेलमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि नरहेको देखाएको टिप्पणी गरे।
उनले भने, “कानुनको कार्यान्वयन छनोट होइन, वामपन्थी वा दक्षिणपन्थीको विषय होइन्। यो राजनीतिक विषय होइन्।’’
महान्यायाधिवक्ताको घोषणा एप्रिल र सेप्टेम्बरमा अनिर्णित भएका चुनावपछि राजनीतिक गतिरोध कायमै रहेका बेला आएको छ।
नेतन्याहुका प्रधानमन्त्री पदका प्रतिस्पर्धी बेनी गन्ट्सले बुधवार संसद्मा बहुमतसहितको गठबन्धन सरकार बनाउन आफू विफल भएको बताएका थिए। यसअघि नेतन्याहु पनि त्यसो गर्न विफल भएपछि गन्ट्सलाई उक्त प्रयास गर्ने अवसर दिइएको थियो।
राष्ट्रपति रूभेन रुबिभ्लिनले बिहीवार सांसदहरूलाई २१ दिनभित्र प्रधानमन्त्रीको उम्मेदवारमा सहमति जुटाउन र एक वर्ष्भित्र तेस्रो चुनावको सम्भावना रोक्न आग्रह गरेका थिए। अभियोगको घोषणापछि गन्ट्सले ट्वीट गर्दै भनेका छन्, “इजरेलका निम्ति यो निकै दुःखद दिन हो।’’
अभियोगहरू के छन्?
महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले फेब्रुअरीमा आफूले नेतन्याहुलाई मुद्दा १०००, मुद्दा २००० र मुद्दा ४००० भनिने तीनथरी अभियोग लगाउन चाहेको बताएका थिए। त्यसबारे रोकिएको अन्तिम सुनुवाइ अन्ततस् गत महिना भएको थियो।
मुद्दा १०००ः यो मुद्दामा नेतन्याहुमाथि जालझेल र विश्वासघात गरेको अभियोग लगाइएको छ। उनीविरुद्ध सहयोगको बदलामा धनाढ्य मित्रबाट पिङ्क शम्पेन भनिने मदिरा र धुमपान गर्ने सिगारहरूसहित महङ्गा उपहार स्वीकार गरेको आरोप छ।
नेतन्याहुले ती मित्रताको प्रतीक भएको र त्यसको बदलामा कुनै अनुचित काम नगरेको बताएका छन्। उनका साथीले पनि गलत काम गरेको कुरा अस्वीकार गरेका छन्।
मुद्दा २०००ः यसअन्तर्गत पनि नेतन्याहुले जालसाजी र निष्ठा तोडेको आरोप छ। उनले आफ्नो पक्षमा समाचार प्रवाह गर्ने र बदलामा प्रतिद्वन्द्वी दैनिकलाई कमजोर पार्ने कानुनको प्रबर्द्धन गर्न एउटा प्रमुख पत्रिकाका प्रकाशकसँग सहमति गरेको अभियोग छ।
प्रकाशकमाथि घुस लिएको आरोप लगाइएको छ। प्रधानमन्त्रीले गलत काम गरेको अस्वीकार गरेका छन्। दुवैले बैठकमा भएको छलफलका विषयलाई प्रश्रय दिने उद्देश्य नराखेको र कानुन पारित नभएको बताएका छन्।
मुद्दा ४०००ःयसलाई सबैभन्दा गम्भीर मुद्दाको रूपमा लिइन्छ। किनकि नेतन्याहुमाथि घुस लिएको र सँगै जालझेल र विश्वासघात गरेको अभियोग छ।
नेतन्याहुले एउटा अग्रणी दूरसञ्चार कम्पनीको पक्षमा निर्णयहरूलाई बढावा दिएका थिए। त्यसबापत उक्त कम्पनीको एउटा वेबसाइटमा नेतन्याहुको पक्षमा समाचार सम्प्रेषण गर्ने सम्झौता कम्पनीका मालिकसँग भएको थियो।
प्रधानमन्त्रीले नियामक निर्णयहरूमा विज्ञहरूको भूमिका रहने कुरामा जोड दिएका छन् र त्यसको बदलामा आफूले केही नलिएको बताएका छन्।
घुस लेदनमा संलग्न भएको आरोप लागेका उक्त कम्पनीका मालिकले पनि गलत काम गरेको आरोप अस्वीकार गरेका छन्।
अप्ठेरोमा नेतन्याहु
बीबीसीकी मध्यपूर्व संवाददाता बारबरा प्लेट अशरका अनुसार नेतन्याहुको कानुनी समस्याले पछिल्ला केही वर्ष उनको कार्यकाललाई सरकार सञ्चालनभन्दा पनि आफ्नो राजनीति बचाइ राख्नमै केन्द्रित गरिदिएको थियो।
देशको राजनीतिक अस्तव्यस्तताको एउटा कारण त्यो पनि हो। नेतन्याहुले अभियोजनबाट आफूलाई उन्मुक्ति दिने नयाँ कानुनहरूको खोजी गरिरहेका छन्। एक वर्षमा दुईवटा चुनाव हुनुका कारणहरूमध्ये एउटा त्यो हो। र, गठबन्धन सरकार गठनमा देखिएको अवरोधको कारण त्यही हो।
प्रधानमन्त्रीले गलत काम गरेको लगातार अस्वीकार गरे पनि अहिले उनी अप्ठेरो अवस्थामा छन्।
इजरेलको कानुन अनुसार अन्तिम निर्णय नहुँदासम्म उनी पदमा बहाल रहन सक्छन्। तर उनका राजनीतिक सहकर्मीहरूले जारी गठबन्धनसम्बन्धी वार्ताहरूमा उनीसँगै रहने कि साथ छाड्ने भन्ने निर्णय गर्नुपर्नेछ।
विपक्षी दलका नेताहरूले इजरेलको निम्ति दिन भएको टिप्पणी गरेका छन्। तर उनीहरूले तत्काल नेतन्याहुलाई पद त्याग गर्न र अदालतमा कानुनी लडाइँ लड्न आग्रह गरेका छन्।
अब के?
नेतन्याहुको भविष्यमा यसले कस्तो असर गर्छ भन्ने स्पष्ट छैन।
अन्यथा प्रमाणित नहुँदासम्म उनी निर्दोषको रूपमा हेरिनेछन्। उनलाई प्रधानमन्त्रीको रूपमा कार्यालयमा रहिरहन अहिलेसम्म कुनै कानुनी अवरोध छैन।
जिल्ला अदालतसामु मुद्दाहरू टुङ्गो लग्न केही महिना लाग्न सक्छ। यदि दोषी ठहरिए भने पनि नेतन्याहुको पुनरावेदन अस्वीकार नगरिँदासम्म उनले पद त्याग गर्नुपर्ने बाध्यता हुनेछैन। त्यो प्रक्रियाले त केही वर्ष लिन सक्छ।
तर संवाददाताहरू भन्छन्, उनले यदि अदालतमा सामानान्तर रूपले आफ्नो प्रतिरक्षा गरिरहेमा कैयौँले प्रधानमन्त्रीको राजकीय जिम्मेवारी वहन गर्ने योग्यतामाथि प्रश्न उठाउन सक्छन्।
गैरसरकारी सङ्गठनहरूले उनलाई राजीनामा गर्न बाध्य तुल्याउन सर्वोच्च अदालतमा निवेदन दिन सक्छन्। अदालतले यसअघि अपराधको अभियोग लागेका मन्त्रीले राजीनामा दिनुपर्ने वा बर्खास्त गरिनुपर्ने फैसला गरिसकेको छ।
प्रधानमन्त्रीको हकमा पनि त्यो लागु हुन्छ कि हुन्न भन्ने कुरा अब अदालतले निर्णय गर्नुपर्ने हुनसक्छ। संसद्मा नेतान्याहुका सहयात्रीहरूले प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदासम्म उनलाई अभियोजनबाट उन्मुक्ति दिने कानुन पारित गराउन खोज्न सक्छन्।
जुन कानुनले त्यस्तो उन्मुक्तिको अधिकार जोगाउन सर्वोच्च अदालतको सम्भावित आदेशलाई निष्प्रभावी तुल्याउने अधिकार सांसदहरूलाई देओस्। बीबीसी