काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले छानेको प्याराग्लाइडिङमा अन्य देशको सहभागिता नपुगेपछि उक्त खेल प्रतियोगिताबाट हटेको छ।
दक्षिण एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्रले दुई खेल छान्न पाउने प्रावधान रहेकोमा नेपालले प्याराग्लाइडिङ र क्रिकेट छानेको थियो।
पदकको प्रबल सम्भावना बोकेको ठानिएको प्याराग्लाइडिङमा आठ स्वर्णपदक समावेश थिए। तर सहभागि राष्ट्रको आवश्यक संख्या नपुगेपछि उक्त खेल सागबाट हटाइएको छ।
प्रक्रिया
सहभागि राष्ट्रले खेलाडी दर्ता गर्ने अन्तिम मिति बुधवार (नोभेम्वर २०) सम्म नेपाल र पाकिस्तानले मात्र नाम लेखाएपछि प्याराग्लाइडिङमा सहभागि राष्ट्र नपुगेको हो।
सागको प्रावधान अनुसार खेल समावेश गर्न अफिसियल खेलमा चार र ननअफिसियल खेलमा कम्तिमा तीन राष्ट्रले सहभागिता जनाउन आवश्यक हुन्छ।
प्याराग्लाइडिङमा नेपाल र पाकिस्तानले मात्र नाम लेखाएपछि थप एक राष्ट्र अपुग भएको नेपाल ओलिम्पिक कमिटीले जनाएको छ।
नेपाल ओलिम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ भन्छन्: आवश्यक सहभागिता सङ्ख्या र्पुयाउन हामीले विभिन्न देशका क्लब र ओलिम्पिक कमिटीसँग छलफलको प्रयास गर्यौं। कुरा मिल्ने अवस्थाको नजिक पुगेपनि अन्ततस् सफल हुन सकिएन,
आठ स्वर्णको ‘आशा र्मयो’
इन्डोनेसियामा सम्पन्न पछिल्लो एसियाली खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङबाट नेपालले रजतपदक जितेको थियो।
सागमा नेपालले प्याराग्लाइडिङको सबै खेलमा स्वर्णपदक जित्ने आशा गरेको थियो। प्याराग्लाइडिङमा क्रस कन्ट्री र एक्युरेसी गरी दुई इभेन्टस समावेश गरिएको थियो।
दुवै इभेन्ट्समा पुरुष एकल, महिला एकल, टिम पुरुष र टिम महिला गरी ४–४ स्वर्ण राखिएको थियो। यससँगै सागमा खेलको संख्या घटेर २६ पुगेको छ।
देश थप्ने प्रयास
नेपालबाहेक दक्षिण एसियाको अन्य देशमा पाराग्लाइडिङका खेलाडीहरु कम छन्। यो तथ्य बुझेपछि नेपालले प्याराग्लाइडिङमा भाग लिन आउने दक्षिण एसियाका सबै राष्ट्रका खेलाडीहरुको खर्च ब्यहोर्ने प्रस्ताव राख्यो।
राष्ट्रिय खेलकुद परिषदले सबै खेलाडीहरुको दोहोरो हवाई टिकट, होटलदेखि आवश्यक खर्च ब्यहोर्ने लिखित प्रस्ताव नै पठाएको थियो।
नेपाल ओलिम्पिक सङ्घले दक्षिण एसियाका अन्य ओलिम्पिक काउन्सिल र नेपाल पाराग्लाइडिङ संघले आ–आफ्नै ढंगले सकृयता देखाएका थिए।
“हामीले पोखरामा १० वर्षदेखि काम गरिरहेका एक भारतीय पाइलट अजय शर्मालाई भारतीय ओलिम्पिक कमिटीका महासचिव राजीव मेहतालाई भेट्न नयाँदिल्ली नै पठायौं,’’ नेपाल पाराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउत भन्छन्।
‘तर सकारात्मक जवाफ आएन।’ राउतका अनुसार भुटान र बाङ्लादेशका खेलाडीहरुलाई नेपालमा अभ्यास गराइदिने समेत प्रस्ताव गरिएको थियो।
श्रीलङ्काले इच्छा देखाएपनि त्यहाँ राष्ट्रपतिको निर्वाचन परेकोले खेलाडीहरू आउन नसकेको जानकारी आएको बताइएको छ। प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउत भन्छन्, “सहभागि हुनासाथ कास्य पदक प्राप्त हुन्छ भन्ने लोभ पनि हामीले दिएका थियौं। तर कुरा मिलेन।’’
नेपालको तयारी कस्तो थियो?
दक्षिण एसियामा प्याराग्लाइडिङ खेलाडिहरु क्लबका रुपमा मात्रै रहेको बताइने गरेका छन्।
संस्थागत संघहरु नहुंदा र भएका क्लबहरुको सम्बन्धित देशको ओलिम्पिक कमिटीसँग सम्पर्क नहुँदा समस्या हुन गएको ओलिम्पिक कमिटीका अधिकारीहरु बताउँछन्।
नेपालले गत वैशाखबाट प्याराग्लाइडिङको बन्द प्रशिक्षण सुरु गरेको थियो। जसमा २१ पुरुष र ६ महिलागरी २७ खेलाडीहरु समावेश थिए।
तर जतिजति समय घर्किंदै गयो र अन्य देशको सहभागि हुने सम्भावना न्युन हुँदै गयो, खेलाडीहरुको मनोबल घट्दै गएको प्रशिक्षकहरूले बताउने गरेका थिए।
वैशाखबाट प्रशिक्षण थालेपनि खेलाडीहरुले अझैसम्म राष्ट्रिय खेलकुद परिषदबाट भत्ता नपाएको बताएका छन्। निराश प्याराग्लाइडिङ खेलाडीहरुले दुई हप्ता अगाडिदेखि प्रशिक्षण बन्द गरिसकेका थिए। नोभेम्बर २० को दर्ता समय कुर्नु औपचारिकता मात्र हुनपुग्यो।
कमजोरी
कतिपयले दक्षिण एसिया प्याराग्लाइडिङको वास्तविक अवस्था नबुझिकन नै नेपालले उक्त खेल छान्नुलाई पदाधिकारीहरुको कमजोरी समेत भनेका छन्।
प्याराग्लाइडिङमा प्रशिक्षक योगेश भट्टराईले खेल हट्नुलाई दुःखद् भनेः “हाम्रा खेलाडीहरुले आठ स्वर्ण जित्न सक्ने ठूलो अवसर गुमाए। हामी दुस्खी छौं।’’
आठौं दक्षिण एसियाली खेलकुद नेपालमा हुँदा आयोजकको हैसियतले नेपालले कराँते र तेक्वान्दो छानेको थियो। जसबाट २८ स्वर्ण प्राप्त गरेको नेपाल पदक तालिकामा दोस्रो स्थानमा उक्लिएको थियो। बीबीसी