काठमाडौ–तिनाउ र दानव नदी किनारबाट अवैधरूपमा नदीजन्य सामग्री चोरी निकासी हुने गरेको पाइएको छ। बुटवल उपमहानगरपालिका–१७ हरिहरपुर नाकाबाट अवैधरूपमा सामग्री निकालेर लुकाइराखेको अवस्थामा फेला परेपछि यस्तो रहस्य बाहिर आएको हो।
बुटवल उपहानगरपालिकाले अनुगमनका क्रममा नदी किनारका झाडीमा नदीजन्य फेला पारेको थियो। नदी किनारका झाडीमा झण्डै ७० टिपर जति नदीजन्य सामग्री फेला परेको र त्यसलाई उपमहानगरले नियन्त्रणमा लिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।
उपहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, त्यसक्षेत्रका वडाका अध्यक्षहरु, राजश्व महाशाखा, वित्त व्यवस्थापन महाशाखा, नगर प्रहरी र नेपाल प्रहरीको टोलीले त्यसक्षेत्रको अनुगमन गरेको थियो। अनुगमनको टोलीको गाडी देख्नासाथ त्यहाँ अवैध उत्खनन गरेका गाडी सामान छाडेर भागेका थिए।
अनुमगनमा गएका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले भागेका गाडी र मान्छेका बारेमा खोजी भइरहेको बताए बुटवल उपमहानगरपालिकाको वडा नं १७ को हरिहरपुर र धन्दापुरमा यसअघि नदीजन्य सामग्रीको ठेक्का लगाइएको थियो। सोही ठाउँ र नजिकैका विभिन्न स्थानबाट अवैधरूपमा सामग्री निकाल्ने गरेको सूचना पाएपछि उपमहानगरले एकैसाथ अनुगमन गरेको हो।
उपमहानगरपालिकाका प्रमुखको सक्रिय सहभागितामा हालसम्म ६४ टिपरभन्दा बढी अवैध नदीजन्य पदार्थ नियन्त्रणमा लिइएको उपमहानगरको राजश्व महाशाखाले जानकारी दिएको छ। झाडीमा लुकाइराखेको सामान सबै उपमहानगरले नियन्त्रणमा लिएर आफ्नै गाडीमा उठाएको वडा नं १७ का अध्यक्ष सन्तबहादुर रानाले बताए।
अवैध उत्खनन र निकासी गर्ने गाडीलाई मात्र नियन्त्रणमा लिने गरिएकोमा अबदेखि गाडीका चालक र मजदूरलाई समेत नियन्त्रणमा लिएर कानूनी कारवाही गर्न उपमहानगरको राजश्व र वित्त व्यवस्थापन महाशाखालाई निर्देशन दिइएको प्रवक्ता रेग्मीले बताए।रासस