एजेन्सी– मंसिर १५ गतेबाट नेपालमा सञ्चालन हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ चार देश मात्रै सहभागि हुने भएका छन्। सागको अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल, भारत, श्रीलंका र माल्दिभ्सले मात्रै खेल्नेछन्।
अघिल्लो संस्करणमा ५ राष्ट्रको सहभागिता रहेपनि यसपटक पाकिस्तान, भुटान र बंगलादेश सहभागि नहुने भएका हुन्। चार राष्ट्रको सहभागितासँगै खेलहरु राउन्ड रोविन लिगका आधारमा खेलाइने छ। लिग चरणको समापनपछि शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ।
उक्त विधामा हालसम्म सागको सबै संस्करणमा भारत च्याम्पियन बन्दै आएको छ। नेपाल भने लगातार रजतमा सीमित भएको छ। महिला फुटबलले सागमा ११औं सागबाट प्रवेश पाएको हो। नेपाली टोलीले विगत ५ महिनादेखि सागको तयारी गरिरहेको छ।