विराटनगर– विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ।
छोरी बोझ होइन, छोरीलाई सम्मान गर्नुपर्छ र समयअनुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्ने धारणाको विकास हुनुनै कार्यक्रमको सफलता भएको विराटनगर महानगरपालिकाको ठहर छ। चालू आर्थिक वर्षबाट शुरु भएपछि लाभान्वित वर्ग खुसी हुँदै गएको महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले बताएका छन्।
विराटनगर महानगरपालिकाले महानगरभित्र बालबालिकाको हितको संरक्षण, सरसफाइ, लैङ्गिक समानता, हिंसा, गरीबी, सीमान्त महिलाको छोरीको गर्भपतनको न्यूनीकरण, छोरीलाई प्रोत्साहन गर्नका लागि महानगरपालिकामा छोरी बचाउ अभियान कार्यक्रम सञ्चालनमा ल्याइएको हो। यसका लागि महानगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको छ।
परिवारमा छोरीको महत्व र छोरीलाई प्रोत्साहन गर्ने, छोरीलाई समान स्थान दिने, पहिलो र दोस्रो सन्तान छोरीलाई यस कार्यक्रमले सन्तानको परिभाषा भित्र राखिएको र छोरी बचाउ अभियानअन्र्तगत पहिलो सन्तानलाई रु तीन हजार र दोस्रो सन्तानलाई रु २५ सय विराटनगर महानगरपालिकाले ग्लोबल बैंकमा खाता खोली सो रकम बै्कंमा १८ वर्षको लागि राखिदिने गरेको छ। पहिलो सन्तानअन्र्तगत ३५ जनाले यो सुविधा लिएका छन्।
दोस्रो सन्तान जन्माउने ३२ जनाले यो सुविधा लिएका छन्। सेवा लिनलाई स्वास्थ्य संस्था वा अस्पतालमा सन्तान जन्मिएको हुनुपर्ने, ३५ दिनभित्र जन्म दर्ता गरेको, वडा कार्यालयको सिफारिस अनिवार्य लिएको, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि र दोस्रो सन्तानको हकमा दुवै छोरीको जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रुपमा रहेको उपप्रमुख कार्कीले जानकारी दिएका छन्। यो छोरी बचाउ अभियान आउने दिनहरुमा अझै प्रभावकारी बन्ने र यसले समाजमा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गरेका छन्। (रासस)