काठमाडौं–आज शुक्रबारदेखि नेपालभर रिलिज भएको चलचित्र ‘च च हुई’ को विशेष शो काठमाण्डौमा आयोजना गरिएको छ। नयाँ बाँनेश्वरमा रहेको ‘वान सिनेमाज’ मा आयोजित शोमा चलचित्र हेर्न नायक विराज भट्ट, सलोन बस्नेत, आमेष भण्डारी, हाँस्य कलाकारद्धय केदार घिमिरे, जितु नेपाल, निर्देशक दीपाश्री निरौला, निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बाँनिया लगायत पुगेका थिए।
विशेष शोमा चलचित्रका मुख्य नायक आर्यन सिग्देल पनि उपस्थित थिए। चलचित्र हेरिसकेपछि नायक आर्यन सिग्देलको कमेडी अभिनयको चलचित्रकर्मीहरुले तारिफ गरेका छन्। नायक आर्यन सिग्देलले भने नायक विराज भट्टको जस्तो एक्सन आफूले गर्न नसक्ने भन्दै त्यसको कल्पना पनि नगरेको सुनाए। त्यस्तै विराजले कमेडी गर्न गाह्रो भएको बताए।
यस्तै, नायक विराज भट्टले चलचित्रबारे भने,‘मलाई यसको कथा, कमेडी र कलाकारको अभिनय सबै मनपर्यो। आर्यन सिग्देलको कमेडी पाटो उत्कृष्ट लाग्यो।’ यस्तै, नायक आर्यन सिग्देलले आफूलाई मनपर्ने कलाकार विराज भट्ट भएको सुनाए। विराजले नयाँ चलचित्र ‘साङ्लो’ का लागि खुबै मिहिनेत गरेको आफूले पाएको आर्यनले बताए।
आर्यनले विराजसँगको सहकार्यको बिषयमा भने, ‘यो एकदमै सम्भव छ। विराज दाई पनि कमर्सियल चलचित्र खेल्न रुचाउनुहुन्छ। मैले पनि रुचाउँछु।’ आर्यनले आफूहरु दुबै जना ‘राम्रो मानिस’ भएको समेत सुनाए। चलचित्र हेर्न पुगेकी निर्देशक दीपाश्री निरौलाले कलाकारको अभिनयको तारिफ गरिन्।
साम्तेन भुटिया निर्दे्शित चलचित्रमा भोलाराज सापकोटा, मिरुना मगर लगायतको पनि अभिनय छ। यो चलचित्र कलाकार र निर्देशकको लागि भाग्यपरिक्षा पनि भनिएको छ।