तस्वीरः अनलाइन खबर
काठमाडौं–दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण यसै महिना नेपालमै आयोजना हुँदैछ। यो नेपालका लागि एकदमै खुशीको कुरा पनि हो। सागमा यसपाली नेपालले आशा गरेकी एक खेलाडी हुन् गौरिका सिंह। राष्ट्रिय खेलकुदमा आफ्नो एकछत्र प्रभूत्व कायम गरेकी यी पौडीबाजलाई हौसला दिन एउटा गीत बनाइएको छ।
‘हिप हिप हुर्रे गौरिका’ बोलको गीत तिलस्मी खड्काले गाएकी हुन्। गोल्डेनगेट कलेजमा कक्षा १२ को पढाई सिध्याएकी तिलस्मीको स्वर कम उमेरमै निखारिएको छ। ललितकलामा ब्याचलर पढ्ने तयारीमा रहेकी उनको संगीतलाई नै करिअर बनाउने धोको छ उनको। सर्लाही, हरिवनकी तिलस्मीलाई उनका पिता योगाज खड्काले संगीतमा लाग्न प्रेरणा दिइरहेका छन्। गौरिकाको गीत योगाजले नै लेखेका र संगीत दिएका हुन्।
योगाज भन्छन्, ‘धेरै बाबुआमा आफ्ना छोराछोरीलाई कला संगीतमा लगाउन चाहँदैनन्। तर म आफ्नी छोरीलाई गायन क्षेत्रमा नाम कमाएको हेर्न चाहन्छु। त्यसका लागि सक्दो साथ र सहयोग दिने छु।’ योगाज आफैं पनि संघर्षशील गायक हुन्। धेरै वर्ष अगाडि उनले एउटा एल्बमसमेत निकालेका थिए। उनका गीतहरु कर्णप्रिय भए पनि प्रबर्द्धन गर्न नसक्दा चर्चामा आएनन्। फलतः संगीत क्षेत्रमा स्थापित हुने उनको लक्ष्य अधुरो रहेको छ। अहिले आफ्नो अधुरो चाहना छोरीमार्फत पूरा गर्न उनले चाहेका छन्।
गौरिकामाथि गीत लेख्नु र छोरीको स्वरमा रेकर्ड गराउनुको कारणबारे उनले भने, ‘म आफैं पनि गौरिकाको फ्यान हुँ। उनको प्रतिभालाई प्रोत्साहन गर्ने र अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा हौसला बढाउने हिसाबले यो गीत लेखेको थिएँ। अहिले दक्षिण एसियाली खेलकुदमा उनले भाग लिँदैछिन्। त्यसैले यतिबेला सार्वजनिक गर्नु उपयुक्त हुने ठानेको हुँ।’
तिलस्मी पनि यो गीतलाई लिएर निकै उत्साहित छिन्। ‘टाइमिङ’ सही भएकाले गीतले आफूलाई चिनाउन सक्ने उनको विश्वास छ। ‘आफ्नै उमेरको खेलाडीलाई प्रोत्साहन दिएर गीत गाउन पाउँदा एकदमै खुशी छु। सागमा उहाँले राम्रो गर्नुभयो भने मेरो गीतले पनि सार्थकता पाउनेछ,’ तिलस्मीले भनिन्।
हाइलाइट्स नेपालको च्यानलबाट अपलोड गरिएको यो गीतको म्युजिक भिडियो सञ्जय पाण्डेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी बद्री विष्टको रहेको छ। गीतका शब्दहरु सरल र मिठासपूर्ण छन्। गौरिकाले खेलेका राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय प्रतियोगिताका क्लीप्सहरु समावेश गरेर तयार गरिएको भिडियो पनि आकर्षक छ।
यसपालीको राष्ट्रिय खेलकुदमा गौरिकाले कीर्तिमानी १२ स्वर्ण जितेकी थियन्। १३ औं सागमा भाग लिन आगामी २ डिसेम्बरमा उनी नेपाल आउँदैछिन्।