काठमाडौं– अनुशासनविपरित नाइट क्लब गएर विश्वकप छनोटअन्तर्गतको कुवेतविरुद्धको खेल गुमाएको खेलाडीले १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा सहभागि हुन नपाउने बताइएको छ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्षले कर्माछिरिङ शेर्पाले नेपाली फुटबलर विमल घर्तीमगर, अञ्जन विस्ट, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई साग खेल्न नदिने बताएका छन्। भूटानबाट नेपाल फर्किएका अध्यक्ष शेर्पाले अनुशासनहीन काम गर्ने राष्ट्रिय टोलीका चार खेलाडीलाई दक्षिण एसियाली खेलकूद (साग) खेल्न नदिने जानकारी दिएका हुन्।
कुवेतविरुद्धको खेल अगाडि बन्द प्रशिक्षणमा रहेका उनीहरू राति ठमेलस्थित लञ्च बारमा गएको भेटिएपछि चारै जना खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त गरिएको थियो। अघिल्लो शुक्रबार राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएपछि अनुशासनहीन काम गरेको भन्दै एन्फाले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरूलाई कुवेतविरुद्ध खेल्ने टिमबाट पनि हटाइएको थियो।
क्लबमा रात बिताएका उनीहरु बिदाइ कार्यक्रममा सहभागी हुन एन्फा पुगेका थिए भने सोधपुछका क्रममा रातको समय क्लबमा बिताएको कुरा स्विकार गरेको थिए। विमल र अन्जन यसअघि पनि अनुशासनहीन गतिविधिमा संलग्न भइसकेका थिए।