काठमाडौं– पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननविरुद्ध नेपाल पत्रकार महासंघले प्रदर्शनको तयारी गरेको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै महासंघले यस्तो जानकारी दिएको छ।
पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारवाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै प्रदर्शन गरिने बताइएको छ। यहि मङ्सिर ८ गते ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’का अवसरमा उपत्यकासहित सातै प्रदेशमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन हुनेछ।
महासंघको अभिलेखअनुसार नेपालमा २०५२ सालदेखि शुरु भएको सशस्त्र द्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकार मारिएका छन् भने ५ पत्रकार बेपत्ता अवस्थामा छन्। मारिएका ३७ पत्रकारमध्ये ५ पत्रकारको हत्यामा संलग्नलाई कारवाही गरी पीडित पक्षलाई न्याय दिलाइएको र ४ जनाको न्यायिक प्रक्रियामा रहेको महासंघले जनाएको छ।
बेपत्ता भएका ५ जना पत्रकारको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको र पीडित परिवारले न्याय नपाएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघको सञ्चार अनुगमन एकाइका अनुसार २०७४ सालमा ६३ वटा र २०७५ सालमा ६० वटा तथा २०७६ वैशाखदेखि हालसम्म २६ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेख भएका छन्।