काठमाडौं– प्राध्यापक र कर्मचारीहरुले काठमाडौं विश्वविद्यालयको सभामा आफूहरुलाई नबोलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरुले पुनः आन्दोलनमा उत्रीनेसमेत चेतावनी दिएका हुन्।
व्यवस्थापन पक्षसँग भएको सम्झौताको बुँदा नम्बर ३ मा विश्वविद्यालयको सभामा प्राध्यापक र कर्मचारीहरुलाई पनि आमन्त्रित गर्ने उल्लेख छ। तर, शुक्रबारको काठमाडौं विश्वविद्यालय सभामा प्राध्यापक र कर्मचारीका प्रतिनिधिलाई नबोलाइएपछि उनीहरु रिसाएका हुन्।
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति वेदमणि दाहालले विश्वविद्यालय व्यवस्थापन पक्षले छलकपट गरिरहेको कारण पुनः आन्दोलन गर्न बाध्य हुनुपरेको जानकारी दिएका छन्।
कर्मचारी संघका अध्यक्ष सुरेन्द्र केसीको अनुसार सम्झौता पत्रमा उल्लेखित बुँदाहरु अक्षरस कार्यान्वयन गर्न कार्यकारी परिषदलाई यही मंसिर १० गतेसम्मको समयसीमा दिइएको छ र यो समयसीमाभित्र कार्यान्वयन नभए आन्दोलनका कार्यक्रम सुरु गरिने छ।
समयसीमाभित्र सम्झौता कार्यान्वय नभए विश्वविद्यालयको कार्यकारी परिषदका सदस्यहरुको राजीनामा माग्ने तथा उपकुलपति र रजिष्ट्रारका कार्यालयहरु पुनः बन्द गर्ने प्राध्यापक र कर्मचारीहरुले चेतावनी दिएका छन्।
यसैगरी सम्झौता कार्यान्वयन गर्न कुलपति एवम् प्रधानमन्त्री र सहकुलपति एवम् शिक्षामन्त्रीसँग अनुरोध गर्ने निर्णयसमेत गरिएको छ।
सम्झौतापत्र र प्राध्यापक तथा कर्मचारीहरुले निकालेको विज्ञप्ति