मकवानपुर– मकवानपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ। एक वर्षअघि हेटौंडाबाटै मोटरसाइकल चोरी मुद्दामा घरौटी बुझाएर छुटेका उनीहरुलाई जिल्लाका विभिन्न भागबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बारा निजगढका ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिकाका राजकपुर चौधरी, बाराको कोल्बी नगरपालिकाका निरन्जन चौधरी र धिरज चौधरी रहेका छन्। उनीहरुसहित प्रहरीले २२० सीसीका दुई वटा पल्सर र रोयल इन्फिल्ड बुलेट बाइक नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ज्ञानेन्द्र चौधरी मोटरसाइकल चोर्ने गिरोहको नाइके हुन्। उनी यसअघि मोटरसाइकल चोरी मुद्दामा ३ लाख १० हजार रुपैयाँ घरौटी बुझाएर २०७५ पुस ३ गते रिहा भएका थिए। प्रहरीले पूर्वपश्चिम राजमार्गको हेटौंडा १९ बाट चोरीको मोटरसाइकल सहित निरन्जन चौधरीलाई प्रदेश ३–०२–०१० प २४५९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।
त्यस्तै राजमार्गको हेटौंडा–लेवट खण्डबाट अनटेष्ट मोटरसाइकलसहित राजकपुर चौधरी पक्राउ परेका थिए। राजमार्गमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीलाई छक्याएर भागेका राजकपुरलाई लेवटको टोलीले पक्राउ गरेको हो। प्रहरीलाई छक्याएर भाग्ने क्रममा मोटरसाइकलबाट लड्दा उनको दायाँ कुमको हड्डी भाँचिएको छ।
चोरी गर्ने गिरोहका नाइके भनिएका ज्ञानेन्द्र चौधरीलाई चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २–०३००२ प ५९४७ नम्बरको बुलेट वाइकसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनले चलाएको मोटरसाइकलको पछाडि बसेका बारा कोल्बी नगरपालिकाका धिरज चौधरीलाई समेत नियन्त्रणमा प्रहरीले जनाएको छ।