एजेन्सी– मानव अधिकारसम्बन्धी संस्था एम्नेष्टी इन्टरनेशनले इन्टरनेट जगतका सबैभन्दा ठूला प्लाटफर्म गुगल र फेसबुक मानव अधिकारका लागि खतरा भएको जनाएको छ। विश्वका मानिसको अभिन्न अंग मानिने गुगल र फेसबुकको व्यवसायिक मोडेलले मानव अधिकारको क्षेत्रमा खतरा पैदा गरेको एम्नेष्टीको आरोप छ।
एम्नेष्टीको रिपोर्टमा यी प्रविधि कम्पनीहरुले अंगीकार गर्ने व्यापक निगरानीको शैलीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। गुगल तथा फेसबुक जस्ता इन्टरनेट प्लाटर्फमहरुले मानव अधिकारमा नोक्सान र्पुयाउने अवस्था सिर्जना गरिरहेको दाबी रिपोर्टमा गरिएको छ। तर फेसबुकले चाहिँ एम्नेष्टीको रिपोर्टप्रति असहमति व्यक्त गरेको छ।
फेसबुकले मानव अधिकार संकटमा पारेको नभै झनै सशक्त बनाएको जिकिर उसको छ। उता गुगलले चाहिँ आफू मानिसहरुको भरोसाको केन्द्र रहेको र प्रयोगकर्ताको डाटाको सुरक्षाको जिम्मेवारीको पनि बोध रहेको बताएको छ। विश्वको कूल जनसंख्याको ९० प्रतिशतभन्दा धेरैले गुगल प्रयोग गर्दछन् भने दुनियाको एक तिहाइ मानिसले हरेक दिन फेसबुक चलाउँदछन्। अतः करोडौँ मानिसहरुसँग गुगल तथा फेसबुक जस्ता निर्धारित शर्त मानेर चलाउनुपर्ने इन्टरनेट प्लाटफर्म प्रयोग गर्नुको विकल्प छैन।
आफ्नो ५८ पृष्ठ लामो रिपोर्टमा एम्नेष्टीले फेसबुक र गुगलको व्यवसायिक ढाँचालाई ‘अरबौं मानिसको विश्वव्यापी निगरानी’ नामाकरण गरेको छ। यी प्रविधि कम्पनीहरुले आफ्नो आधारभूत व्यवसायिक मोडेलमा मौलिक परिवर्तन गर्नु आवश्यक रहेको पनि एम्नेष्टीको रिपोर्टमा उल्लेख छ। गुगल तथा फेसबुकले आफ्ना सेवाहरु प्रयोग गर्दा उपभोक्तासँग कुनै शुल्क नलिए तापनि प्रयोगकर्ताहरुले आफ्ना व्यक्तिगत डाटाहरुको रुपमा मूल्य चुकाउनु परिरहेको एम्नेष्टीको रिपोर्टमा लेखिएको छ।
एम्नेस्टीको दाबीका विषयमा फेसबुकले प्रतिक्रिया दिँदै आफ्नो बिजनेस मोडल विज्ञापनमा आधारित रहेको र यसले मानिसहरुलाई आफ्नो आवाज उठाउन र एकजुट हुने मौका प्रदान गरी मानव अधिकारलाई बढावा दिइरहेको बताएको छ। टेक वेबसाइट द भर्जमा प्रकाशित गुगलका प्रवक्ताको भनाइअनुसार प्रयोगकर्ताको गोपनियताको रक्षाका लागि गुगल प्रतिबद्ध छ र यस दिशामा थप काम गरिरहेको छ।
मानिसहरुले आफ्नो सूचनाका विषयमा गुगलप्रति भरोसा गर्ने भएको हुँदा प्रयोगकर्ताका सूचनाको सुरक्षा गर्नु आफ्नो जिम्मेवारी रहेको भन्दै गुगल त्यसमा थप अध्ययन भइरहेको जनाएको छ।