एजेन्सी –शक्रबार राति जर्मन बुन्डेस लिगा खेल बोरुसिया डर्टमन्ड तीन गोलले पछि परेको स्थिमा तीन गोल गर्दै ३–३ गोलको बराबरी खेल्दै पादेरवर्नसँगको सम्भावित हारबाट जोगिएको छ।
पादेरवर्नका स्ट्रेली मम्वाले दुई तथा जेरिट हल्टम्यानले एक गोल गरे । डर्टमन्डका जाडोन सान्चो, एक्सेल विस्टेल र कप्तान मार्काे रिउसले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेर टिमलाइ हारबाट जोगाए।
खेलको पाँचौ मिनेटमा स्ट्रेलीले गोल गर्दै पादेरवर्नलाई अग्रता दिलाए । ३७औं मिनेटमा स्ट्रेलीले व्यक्तिगत दोस्रो गोल गरे । ४३औं मिनेटमा जेरिट हल्टम्यानले गोल गरेपछि डर्टमन्ड घरेलु मैदानमा ३–० ले पछि परेको थियो ।
दोस्रो हाफमा डर्टमन्डले उत्कृष्ट पूनरागमन गर्दै तीन गोल गर्न सफल भयो । ४७औं मिनेटमा जाडोन सान्चोले अचराफ हाकिमीको पासमा गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काउने संकेत देखाए ।
८४औं मिनेटमा एक्सेल विस्टेलले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । हारतर्फ उन्मुख डर्टमन्डका लागि कप्तान रिउसले जाडोन सान्चोको पासमा गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।
बराबरीसँगै डर्टमन्ट १२ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पादेरवर्न ५ अंकसहित रेलिगेसन जोनको पुछारमा छ । बोरुसिया मोन्चेनग्लाडवाच ११ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।