काठमाण्डौ–नेपालगञ्ज औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य छ। नेपालमा रोजगारीको समस्या भइरहेको भनिरहेको अवस्थामा यहाँका औद्योेगिक क्षेत्रमा काम गर्ने अधिकांश कामदार भारतीय रहेका छन्। धातुजन्य तथा प्लाइउड उद्योगलाई चाहिने दक्ष जनशक्ति नेपालमा नहुँदा भारतीय कामदारको बाहुल्यता रहेको छ।
नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार एक हजार ५०० कामदारमध्ये औद्योगिक क्षेत्रमा करिब एक हजार भारतीय कामदार रहेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार अन्य उद्योगमा भन्दा धातुजन्य र प्लाइउड उद्योगमा अधिकांश भारतीय मजदुर कार्यरत छन्।
जनशक्तिको अभावका कारण भारतीय कामदारको प्रयोग अत्यधिक रहेको उनले बताए। दक्ष जनशक्ति उत्पादन भए भारतीय कामदार विस्थापित हुँदै जाने उनको भनाइ छ। प्राविधिक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था खुलिरहेका कारण विस्तारै भारतीय जनशक्ति विस्थापित हुँदै जाने पुनले बताए।
नेपालमै दक्ष जनशक्ति नभएकै कारण नेपाली मजदुरभन्दा भारतीय मजदुर राख्नुपरेको कार्यालय प्रमुख पुनको भनाइ छ। उनले नेपालमा दक्ष जनशक्ति कम भएकाले समस्या रहेको बताए। उनले भने, “हामीले नेपाली दक्ष कामदार नै राख्नका लागि प्राथमिकता दिने भनिए पनि दक्ष कामदारको अभाव रहेकाले समस्या छ।”
उद्योगले भरियो औद्योगिक क्षेत्र पश्चिम नेपालकै ठूलो र पुरानो एक मात्र नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योगले भरिएको छ। पश्चिम नेपालको व्यापारिक केन्द्रका रूपमा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्र २३३ रोपनीमा फैलिएको छ। यस औद्योगिक क्षेत्रमा रहेका ३५ उद्योगमध्ये ३० वटा सञ्चालनमा छन् भने चार निर्माणाधीन छन् र एउटा उद्योग बन्द भएको छ।
माँ शक्ति मेटल उद्योग, होली प्लाष्टिक उद्योग, सपना मेटल उद्योग, हसन डिटरजेन्ट पाउडर उद्योग, रोशन मेटल क्राफ्ट इण्डष्ट्रिज, अलनुर मेटल रोलिङ मिल्सजस्ता ठूला उद्योगहरु औद्योगिक क्षेत्रभित्र रहेका छन्। भेरी प्राविधिक शिक्षालयसमेत रहेको औद्योगिक क्षेत्रभित्र नयाँ उद्योग स्थापना गर्ने जग्गा नभएको व्यवस्थापन कार्यालयले जनाएको छ।
नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यलयका प्रमुख पुनले औद्योगिक क्षेत्रको आकार नै सानो भएकाले विस्तार गर्ने ठाउँ नरहेको बताए। उद्योग स्थापना गर्ने जग्गा बाँकी नरहे पनि उद्योग स्थापना गर्ने चाप रहेको उनले बताए। “माग त आइरहेको छ, ठाउँ नै छैन”, प्रमुख पुनले भने।
घनाबस्तीले जोखिमपूर्ण औद्योगिक क्षेत्र नेपालगञ्जको घनाबस्तीको बीचमा रहेकाले भविष्यमा ठूलो समस्या आउन सक्ने देखिएको छ। मानव बस्तीबीच औद्योगिक क्षेत्र भएकाले वातावरणमा नकारात्मक प्रभाव परिरहेको नेपालगञ्जवासी बताउँछन्। कार्यालय प्रमुख पुनले औद्योगिक क्षेत्रभित्रका उद्योगलाई वातावरणमैत्री बताउनुपर्ने कडाइ गरेको बताए।
वातावरणीय पक्ष ठूलो चुनौती रहेको बताउँदै प्रमुख पुनले भने, “मानव बस्तीको बीचमा औद्योगिक क्षेत्र छ, यसले विस्तारै वातावरण प्रदूषित बनाउँदै जान्छ”, औद्योगिक क्षेत्र स्थापना हुँदाको समयमा मानव बस्तीभन्दा टाढा रहे पनि हाल औद्योगिक क्षेत्र वरपर विद्यालय, अस्पताल र घनाबस्ती रहेको छ।
प्रमुख पुनले उद्योगहरु मानव बस्तीका बीचमा भएकाले वातावरणमैत्री उत्पादन प्रणाली अपनाउन उद्योगीलाई कडाइ गरिएको बताए। औद्योगिक क्षेत्रको वरिपरि मानव बस्ती बसिसकेकाले विस्तार गर्न सम्भव नभएको उनी बताउँछिन्। उनले भनिन् “अब त बस्तीले घेरा हालिसक्यो, विस्तार गर्ने अवस्था नै छैन।”
तामा, पित्तल, काँस, आल्मुनियमका पाता तथा भाँडा, प्लाइउड, स्टिल, फेब्रिकेशन, खाद्य सामग्री, विद्युतीय तार तथा सामान, प्लास्टिकका पाइप, फिटिङ्स, फिल्मस्, धाराका सामान, पिउने पानी, साबुन, सरफ, रङरोगन, ट्रान्सफमर मर्मत तथा उत्पादन, जनशक्ति उत्पादन, फेव्रिकेटिङ वर्कशप, गाडी मर्मत सेवा नेपालगञ्ज औद्योगिक क्षेत्रका उत्पादन हुन्। रासस