एजेन्सी– इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले जितेको छ। शनिबार भएको फाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई ७७ रनले हराउँदै उपाधि उचालेको हो।
पाकिस्तानले दिएको ३ सय २ रनको ठूलो योगफल पछ्याएको बंगलादेशले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र २ सय २४ रन बनायो। बंगलादेशकाे लागि अफिफ हसनले ५३ बलमा ४९ रन, कप्तान जानमुल हसनले ५३ बलमा ४६ रन बनाए भने बहेदी हसनले ४२ रनको योगदान दिए। पाकिस्तानको बलिङमा मोहम्मद हस्नाइनले ८.३ ओभरमा ३२ रन दिँदै ३ विकेट लिए भने कुशदिल शाह र सैफ बदर समान २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ३ सय १ रन बनायो। उसका लागि रोहइल नाजिरले उत्कृष्ट प्रदर्शन गरे। उनले १ सय ११ बलको सामना गर्दै १२ चौका र ३ छक्काको मद्धतमा १ सय १३ रनको शतकीय पारी खेले।
त्यस्तै एम्रान राफिवले ८८ बलमा ६२ रन, साउद शकिलले ४० बलमा ४२ रन बनाए। बंगलादेशको बलिङमा सुमोन खानले ३ विकेट र हसन महमुदले २ विकेट लिए।