मध्यपुरथिमी– हनुमन्ते नदी सरसफाइ अभियानको आज ९१औँ हप्ता मनोहरा र हनुमन्तेको सङ्गमस्थल हनुमान मन्दिरको अगाडिबाट नदीको सफाइ गरिएको छ।
मध्यपुरथिमि नगरपालिका–९ र ललितपुर तथा काठमाडौँको सिमानामा रहेको हनुमन्ते नदीको आज भएको सफाइ अभियानमा सात टन फोहर सङ्कलन भएको हनुमन्ते अभियानका सफाइ दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिएका छन्।
आजको अभियानमा वीर दल गणका नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली, विभिन्न सामाजिक सङ्घसंस्थाहरुका टोली एवं प्रतिनिधि, सञ्चारकर्मीलगायत अभियानकर्मीको सहभागिता रहेको थियो।
कार्यक्रमको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री एवं राप्रपा (संयुक्त)का नेता लोकेन्द्रबहादुर चन्दले देशमा साना कामबाट पनि ठूलो परिवर्तन गर्न सकिन्छ भने।
उनले हनुमन्ते सफाइ अभियान हेर्दा सानो भएपनि यो नियमित र ठूलो परिवर्तनको काम भएकाले यसका अभियन्ताहरु सम्मानको पात्र भएको बताउँदै खोला र नदीहरुमा फोहर गर्नेहरुले पनि त्यस्तो काम अब रोक्नुपर्नेमा जोड दिएका छन्।
विश्वमै वातावरण प्रदूषण भइरहेको बेलामा नेपाल पनि यसको ठूलो चपेटामा परेको भन्दै उनले सरसफाइको काममा सबैले साथ र सहयोग दिएर लाग्नुपर्ने बताएका छन्। (रासस)