वासिङ्टन – तालिबानी नियन्त्रणमा रहेका दुई पश्चिमालाई रिहा गराउन गल्फ मुलुकको पहल भएको भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कतारी अमिर शेख तमिम बिन हमाद अल थानीलाई धन्यवाद दिएका छन्।
गत मंगलबार मात्रै तालिबानी समूहले अफगानिस्तानमा बन्दी बनाएका एक अमेरिकी र एक अष्ट्रेलियन नागरिकलाई रिहा गरेको थियो। जुन कामको लागि कतारी अमिरको पनि पहल भएको बताइएको छ। सोही कारण ट्रम्पले अमिरलाई टेलिफोन गरी धन्यवाद दिएका हुन्।
उक्त रिहाइको लागि अमिरले सक्रिय भूमिका निर्वाह गरेको ट्रम्पको भनाइ थियो । फोन वार्ताको क्रममा उनीहरुले रणनीतिक सम्बन्धबारे पनि समीक्षा गरेको अन्तर्रा्ष्ट्रिय मिडियाले जनाएका छन्।
कतारले भने तालिबानी नियन्त्रणबाट दुई पश्चिमा रिहा भएपछि मंगलबार नै स्वागत गर्दै विज्ञप्ति निकालेको थियो। ती नागरिक २०१६ को अगस्टदेखि अफगानिस्तानमा तालिबानी नियन्त्रणमा थिए।