काठमाडौं– बालाचतुर्दशी देशभरका शिव मन्दिरमा मनाइँदै छ। बालाचतुर्दशी अन्तर्गत आज दिवंगत पितृका नाममा दीपदान साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ।
आज साँझमा दीपदान अर्थात् बत्ती बाल्नका लागि काठमाडौंको पशुपतिनाथसहित शिव मन्दिरहरुमा भक्तजनहरु भिड लाग्छ। प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्न लाखौं भक्तजनहरु पशुपतिनाथ मन्दिर आउने गर्छन्। बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेकाे हाे।
त्रयोदशीको दिन साँझ दीपदान गरेर मानीसहरु रातभर भजनकीर्तन गरी जाग्राम बस्छन् र भोलिपल्ट चतुर्दशीको दिन आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्छन्। पशुपति क्षेत्रको १ सय ८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्छन।
शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने गर्छन्।शतबीजमा हाल धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ।
हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार अरु होइन धानका सय गेडा चढाउनुपर्ने बताइन्छ। भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास रहेको छ।
माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने समितिका अध्यक्ष गौतमले बताएका छन्। उनले भने ‘धर्म्सिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त के, नामसमेत लिनु नहुने उल्लेख गरिएको छ।’ शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन छ।