काठमाडौं– मौसमविदले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आजदेखी तीन दिनसम्म वर्षा र हिमपात हुन सक्ने जानकारी दिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभरी नै आंशिकदेखि सामान्य बदली भएर केही भागमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ र सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।
आइतबार महाशाखाको मौसमी प्रक्षेपणअनुरुप देशभरै आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आइतबार राति देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बदली हुनेछ।
पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यहीक्रम सोमबार र मंगलबार पनि जारी रहने महाशाखाको भनाई छ।