एजेन्सी–अन्तिम समयसम्म आरामले बोर्डिङ गर्ने योजनाका साथ केही ढिलो विमानस्थल पुगेका यात्रुको फ्लाइट नम्बरमा अचानक रातो बत्ती बल्दा जुनसुकै यात्रु पनि आत्तिन्छ। सो परिदृश्य टोकियोको हनेडा विमानस्थलमा प्रायःले अनुभव गर्ने गरेका छन् किनकि यो विमानस्थल विश्वकै सबैभन्दा समयनिष्ठ रहेको छ।
आधिकारिक रुपमा टोकियो अन्तर्रा्ष्ट्रिय विमानस्थल, विश्वको पाचौँ सबैभन्दा व्यस्त विमानस्थलमा पर्दछ जसले २०१८ मा ८ करोड ७० लाख यात्रु उडाएको थियो। तर अत्यन्तै व्यस्त र भारी ट्राफिकका बावजुद हनेडाले ८५.६ प्रतिशत उडान ठीक समयमा गराउन सफल भएको २०१८ को रिपोर्टमा उल्लेख रहेको छ। ओएजी ग्रुपको उडान विश्लेषकले संकलन गरेको यस डाटामा कम्पनीले २०१८ का ५ करोड ८० लाख उडानका रेकर्ड निरीक्षण गरेको हो। यसरी हनेडा यस वर्ष मात्र नभएर पछिल्लो चार वर्षदेखि लगातार विश्वको सबैभन्दा समयनिष्ठ विमानस्थल रहँदै आएको छ। यति ठूलो सङ्ख्यामा यात्रुहरुलाई सेवा दिएतापनि कसरी यो विमानस्थल त्यति प्रभावकारी,सफा र ‘वेल्कमिङ’ हुन सकेको भन्ने कुराले धेरैलाई आश्चर्यमा पार्ने गरेको छ।
वास्तवमा यसको समयनिष्ठ प्रवृत्तिको सबैभन्दा ठूलो श्रेय विमानस्थलका मिहिनेती कर्मचारीलाई दिइने गरिएको छ जसलाई आधुनिक प्राविधिक उपकरणहरुले पनि काममा सघाउने गर्दछन्। विमानस्थलको डोमेस्टिक तर्फ एयरलाइन्सका ब्यागेज व्यवस्थापकहरुले दैनिक १७ हजार लगेज सम्हाल्ने गरेका छन्। विमान सही समयमा उडान हुनुमा लगेज व्यवस्थापनले ठूलो भूमिका निर्वाह गरेको हुन्छ किनकी उनीहरुले केबल १० मिनेटमै विमानबाट लजेजलाई यात्रुसम्म पुर्याउनुपर्ने हुन्छ। यस्तोमा टोकियो अन्तर्रा्ष्ट्रिय विमानस्थलका लगेज तर्फका कर्मचारीहरुले आफ्नो सिफ्ट सुरु हुनु अगाडि सधैँ स्ट्रेचिङ गर्ने गरेका छन् जसले मसल्सलाई स्ट्रेन हुनबाट बचाउँछ। यसरी उत्पादकत्व बढाउनकै लागि एयरलाइनले थुप्रै रोबोटिक पहिरनहरु पनि परीक्षण गरिरहेको छ जसले हाम्रो तल्लो शरीरलाई अतिरिक्त सपोर्ट प्रदान गर्दछ। त्यसले गर्दा काम हलुका हुने र कम शारीरिक दबाब रहने गरेको बताइएको छ। जापान एयरलाइन्सका ग्राउन्ड सुपरभाइजर कोतारु सिनतानी भन्छन् “सो डिभाइसले विमानस्थलको गति बढाउनुका साथै गलती हुनबाट बचाउँछ।” उनका अनुसार ती डिभाइसकै कारण कर्मचारीहरुले काम सकिएपछि पनि कम थकान महसुस गर्ने गरेका छन्। उनले थप भने, “मैले हरेकपटक विमान सही समयमा उडेको सुनिश्चित गर्न पाउँदा गर्व महसुस गर्ने गरेको छु।”
यसै विमानस्थल भित्र रहेको एक अति व्यस्त रेस्टुरेन्टका म्यानेजर हिडेयाकी किमीहारा भन्छन् “जापानीहरु सानैदेखि यस किसिमको मानसिकतासँग परिचित गराइएका हुन्छन्। त्यसैले जब उनीहरु वयश्क अवस्थामा पुग्छन् प्रत्येकको दिमागमा समय अनुरुप चल्नुको महत्व हरेक समय गुन्जिरहेको हुन्छ।”
यसरी समयका साथै यो विमानस्थल अन्य सेवाका लागि पनि विश्वप्रसिद्ध मानिन्छ। पछिल्लो ६ वर्षसम्म हनेडाले स्काइ ट्राक्सबाट फाइभ–स्टार गुणस्तरको सम्मान पाइसकेको छ। विश्वका १२ विमानस्थलले मात्र फाइभ–स्टार प्राप्त गरेका छन् जसमध्येमा सर्वा्धिक व्यस्तमा पर्ने हनेडमा मात्र एक्लो विमानस्थल हो। स्काइ ट्राक्सले हनेडालाई विश्वकै सबैभन्दा सफा विमानस्थलको अवार्ड पनि दिइसकेको छ। यसका साथै हनेडाले सरकारबाट समेत ‘जापान ट्वाइलेट अवार्ड’ प्राप्त गरिसकेको छ। यति मात्र नभएर हनेडाले २०१९ को दोस्रो सबसे राम्रो विमानस्थल र यात्रुहरुलाई सबैभन्दा राम्रो सेवा दिने अनि ‘वल्र्डस बेस्ट डोमोस्टिक एयरपोर्ट’ को शिर्षक पनि प्राप्त गरिसकेको छ। हाल हनेडा विश्वका ४९ वटा विमानस्थलसँग सम्पर्कमा छ। यसरी २०२० टोकियो ओलम्पिक नजिकीँदै गर्दा जापानले ४ करोड अन्तर्रा्ष्ट्रिय यात्रुहरुको आगमन अपेक्षा गरेको छ। यस्तोमा हनेडाले आफ्नो सेवाको गति र प्रभावकारीता अझ बढाउने लक्ष्य राखेको छ। यात्रुहरुको सङ्ख्यामा त्यति ठूलो वृद्धि हुँदाहुँदै पनि उच्च स्तरीय सेवा प्रदान गर्न सक्नु हनेडाका लागि चुनौतिमय रहने बताइएको छ। – सिएनएन