भद्रपुर– झर्रोवादी नेपाली साहित्यका अभियन्ता तथा भाषाविद् साहित्यकार चुडामणि रेग्मीको २८औँ कृति ‘सखारै सखारै’ निवन्ध सङ्ग्रह शनिबार यहाँ विमोचन गरिएको छ। झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा साहित्यकार कोमलप्रसाद पोखरेल, सरोज ओली, यज्ञराज प्रसाईलगायतले कृतिको संयुक्त विमोचन गरेका हुन्।
विसं २०१२ देखि निरन्तर साहित्यिक यात्रामा लाग्नुभएका रेग्मी हाल ८३ वर्ष पुग्नुभएको छ। नयाँ स्रस्टा उत्पादन गर्ने र तिनीहरूलाई गोडमेल गरेर हुर्काउने रेग्मीले कविता र काव्य दुई, कथा सङ्ग्रह तीन, निवन्ध सङ्ग्रह आठ, हास्यव्यङ्ग्य दुई, समालोचना छ, चार भाषा व्याकरणलगायत अढाई दर्जन कृति प्रकाशन गरिसकेका छन्।
रेग्मीलाई झर्रोवादी नेपाली भाषाको अभियन्ताका रूपमा समेत चिनिन्छ। बयोवृद्ध अवस्थामा साहित्य साधनामा निरन्तर लागिरहनुभएका रेग्मीले आफूले देखेभोगेका कुरालाई समेटेर सखारै सखारै निवन्ध सङ्ग्रह निकालेको डा ठाकुरप्रसाद पोखरेलले बताएका छन्।
कार्यक्रममा साहित्यकार कोमलप्रसाद रेग्मी, केशव आचार्य, पत्रकार चन्द्र भण्डारीले रेग्मी साहित्यकारलाई हौसाउने र साहित्यमा निरन्तर लाग्न प्रेरणा भर्ने झर्रोवादी नेपाली अभियानका सफल र सक्रिय अभियन्ताको रूपमा दर्ज भएका बताए। भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले प्रकाशन गरेको कृतिको विमोचनमा झापा, इलाम र मोरङका साहित्यकारको सहभागिता रहेको थियो। रासस