कास्की– कास्कीको मादी गाउँपालिका–२ को पर्यटकीय क्षेत्र ताङतिङगाउँमा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पु¥याइएपछि खुशीयाली छाएको छ। विसं २०५४ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा गाउँ नजिकको खोलाबाट २७ किलोवाट क्षमताको लघुजलविद्युतमार्फत बत्ती बाल्दै आएका स्थानीयवासी मागअनुसारको बिजुली बाल्न पाएका थिएनन्।
लघुजलविद्युतले गाउँ नै उज्यालो बनाए पनि केही वर्षअघिदेखि ठूला विद्युतीय सामग्री सञ्चालन गर्दा पावर नधान्ने तथा पटक–पटक बत्ती गइरहने समस्या भोग्दै आएका स्थानीयवासी प्राधिकरण लाइन विस्तारसँगै खुशी भएको सो वडाका वडाध्यक्ष एकजङ्ग गुरुङले बताएका छन्।
वडाका १८३ घरधुरीमा नै बत्ती पु¥याउने योजनाअनुसार अधिकांशमा लाइन जोडिसकिएको बताउँदै अध्यक्ष गुरुङले भने, ‘गाउँलेमा अहिले खुशीको सीमा छैन, बिजुलीको समस्याबाट हैरानी पाएका हामीहरुले लामो प्रयत्नपछि बत्ती बाल्न पाएका छौँ।’ गत आव २०७५७६ मा घ्याब्राङ, सेतीखोला रोँहीगाउँसम्म प्रसारण लाइन पुगेकामा चालू आवको चार महिनामा पाँच किमी लाइन विस्तार गरेर माथि ताङतिङसम्म प्रसारण लाइन पु¥याइएको हो।
गाउँका धेरै घरमा अहिले होमस्टे (घरवास) शुरु भएको छ। गाउँमा पाहुना बढ्दै जाने तर बत्ती नभएर अँध्यारोमा राख्नुपर्ने समस्या हटेकाले पर्यटकलाई समेत सहज हुने विश्वास स्थानीयवासी गुमान गुरुङले व्यक्त गरेका छन्। प्राधिकरण लेखनाथ शाखा प्रमुख पवन पौडेलले ताङतिङ नजिकको मादी वडा नं १ का सोधा, खिलाङ, पार्चे र सिक्लेसमा समेत केही महिनाभित्रमा केन्द्रीय प्रसारण लाइन पु¥याइने जानकारी दिएका छन्। (रासस)